चेक बाउन्स भएपछि मेलम्चीका नेपाली ठेकेदार र कर्मचारी तिनछक | सरकारले नै वक्यौता रकम उपलब्ध गराउनुपर्छ : संघर्ष समिति
काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा काम गर्ने नेपाली ठेकेदारहरू र काम गर्ने व्यक्तिहरू ठेक्का तोडिएपछि तिनछक परेका छन् । सीएमसीले दिएका बैंक चेकहरू बाउन्स भएपछि उनीहरू तिनछक परेका हुन् । उक्त कम्पनीले दिएका चेकहरू बाउन्स भइरहेको संघर्ष समितिका संयोजक श्रीराम न्यौपानेले जानकारी दिएका हुन् ।
आयोजना निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएमसीले ठेक्का तोडेपछि नेपाली कामदार र सो आयोजनामा काम गर्ने साना नेपाली कम्पनीहरूले आफ्नो बाँकी भुक्तानीका लागि माग गरेका छन् ।

उक्त आयोजनामा काम गरिरहेका करिब ८ सय कर्मचारीको तलब रोकिएको आयोजनाकै एक सदस्य देवीरमण अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले ८ करोडभन्दा बढी रकम पारिश्रमिकबापत इटालियन कम्पनीले तिर्न बाँकी छ । त्यस्तै, आयोजनालाई सामग्री प्रदान गर्दै आइरहेका नेपाली ठेकेदारहरूले कि त सीएमसीलाई नै मनाएर काममा फर्काउन वा बक्यौता रकम सरकारले नै उपलब्ध गराइदिनुपर्ने माग गरेका छन् ।
न्यौपानेले मन्त्रालयले कमिशनको चक्करमा इटालियन कम्पनी भगाएको आरोप लगाएका छन् । उनले भुक्तानी समस्या समयमै समाधान गर्न पनि सरकारसँग आग्रह गरेका छन् । हाल मेलम्चीको २७ किलोमिटर सुरुङमध्ये १५ सय मिटर सुरुङ फिनिसिङ गर्न बाँकी छ । यो काम १० दिनमा सकिने ठेकदारहरूले बताएका छन् । तर यदि आयोजनाको काम सरकारले अर्कै कम्पनीलाई दियो भने अरु २ वर्ष लाग्ने पनि बताए ।
Visited 1 times, 1 visit(s) today


