वीरगञ्जका उद्योगी निरञ्जन अग्रवाल पक्राउ, ब्राण्ड नक्कल गरेको आरोप |
वीरगञ्ज । वीरगञ्जका उद्योगी निरञ्जन अग्रवाल पक्राउ परेका छन् । उनलाई इटालियन चुइङ्गम कम्पनी परफेटी भेन इटालीको ब्राण्ड चोरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको हो ।
प्रहरी कार्यालय पर्साको टोलीले अनुसन्धानका क्रममा बिहीवार दिउँसो आदर्शनगरस्थित उनकै नेपाली चुइङ्गम ‘सेल्टर फ्रुट’ उत्पादन गर्दै आएको स्वीट मार्ट इण्डष्ट्रिजबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।
उनको उद्योगले उत्पादन गर्ने सेल्टर फ्रुट ब्राण्डको चुइङ्गमको रेपरमा इटालियन कम्पनीको भारतमा दर्ता रहेको परफेटी भेन मेले इण्डियाले उत्पादन गर्ने सेण्टर फ्रुट ब्राण्डको चुइङ्गमको रेपर र मोनोग्राम नक्कल गरेको उजुरी एक महिनाअघि परेको र सोही उजुरीका सम्बन्धमा अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ । उनलाई सोही उजुरीका सम्बन्धमा नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।
उनलाई ब्राण्डको नक्कल र प्रतिलिपि अधिकार चोरीको अभियोगमा अनुसन्धान गरी अदालतमा बौद्धिक सम्पत्ति चोरीको मुद्दा दायर गरिने पर्सा प्रहरीले बताएको छ । अग्रवाल वीरगञ्जबाट पिंकी सुपारी उत्पादन गर्ने अरविन्द उद्योग प्रालिका तत्कालीन सञ्चालक पनि हुन् । उक्त उद्योग बन्द भएपछि उनले एक वर्षदेखि चुइङ्गम उत्पादन गर्ने उद्योग सञ्चालन गरिरहेका थिए ।



