क्रिकेट खेल्न आउने विदेशी खेलाडीलाई पनि अब श्रम इजाजत ! |
काठमाडौं । अबदेखि नेपालमा सञ्चालन हुने क्रिकेट प्रतियोगितामा भाग लिन आउने विदेशी खेलाडीले अनिवार्य रूपमा श्रम इजाजत लिनुपर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई पत्र लेखी प्रतियोगितामा भाग लिन आउने विदेशी क्रिकेट खेलाडीले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
विदेशी क्रिकेट खेलाडीलाई श्रम इजाजत नलिई लिग खेलहरू खेलाएको भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा उजुरी परेपछि सरकारले यस्तो व्यवस्था गरेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयले पठाएको उक्त पत्रमा ‘नेपालमा सञ्चालन हुने खेलकुद प्रतियोगिताहरूमा नेपाली क्लबका तर्फबाट खेल खेल्न आउने विदेशी खेलाडीहरूले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य रूपमा श्रम इजाजत लिएर मात्र खेलकुद प्रतियोगितामा सहभागी गराउने व्यवस्था मिलाउन’ भनिएको छ ।
श्रम मन्त्रालयले विदेशी खेलाडी सहभागी गराई क्रिकेट लिग खेलाउने संस्थाहरूको नाम र ठेगाना तथा त्यस्ता खेलमा भाग लिने क्लबहरूको नाम ठेगानासमेत माग गरेको छ । नेपालमा अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको मान्यताप्राप्त लिगहरूमा विभिन्न क्लबले विदेशी खेलाडी सहभागी गराएका थिए ।



