रानीपोखरी पुनर्निर्माणको जिम्मा प्राधिकरणलाई दिइयो | प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरिने
काठमाडौं । रानी पोखरीको पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाएको छ । सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माणसम्बन्धी सम्पूर्ण कार्य गर्ने गरी उसलाई जिम्मेवारी दिएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई रानीपोखरीको परम्परागत शैली र मौलिकतालाई संरक्षण गरी त्यसवरिपरिको भाग प्रताप मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने जिम्मा दिइएको बताइएको छ ।
यसअघि रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुटशिखर शैलीमा गर्ने भन्ने विवाद थियो । विज्ञले दिएको सुझावसमेतका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग एवम् काठमाडौं महानगरपालिकालगायतसँग समन्वय तथा सहजीकरण गरी पुरानै शैलीमा पुनर्निर्माण गर्ने निर्णय भएको छ ।
यही माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माणको जिम्मा प्राधिकरणलाई दिएको हो ।
प्राधिकरणले भूगर्भविद्बाट रानीपोखरीमा पानी कसरी जम्मा गर्न सकिन्छ र कसरी अड्याउन सकिन्छ भन्ने अध्ययनसमेत गराएको थियो । विज्ञले ३०० फिट तलबाट पानी निकाल्न सकिने र कालिमाटीको प्रयोग गरी पानी अड्याउन सकिने प्रतिवेदन दिएका छन् ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, विज्ञ, सरोकारवाला संघसंस्था, स्थानीय समुदायलगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरिने बताए ।



