वैकल्पिक लोकमार्गको उदयपुर खण्डमा कालोपत्रे शुरू |
उदयपुर । राष्ट्रिय गौरवको आयोजना ‘मदन भण्डारी वैकल्पिक लोकमार्ग’ को उदयपुर खण्डमा कालोपत्रे शुरू भएको छ । लोकमार्गको पूर्वी खण्डअन्तर्गत सदरमुकाम गाईघाटदेखि चुहाडे–मुर्कचीसम्मको खण्डमा कालोपत्रेको काम शुरू भएको हो ।
धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा जोड्ने यो सडकको निर्माणको जिम्मा जेडआईईसीशर्मालामा जेबीले कालोपत्रेको काम थालेको तथा छिट्टै पश्चिमतर्फ कटारी, सिन्धुलीसम्म र पूर्वतर्फ बेलटार बसाहासम्म कालोपत्रे शुरू गर्ने जानकारी दिएको छ ।
कालोपत्रे शुरू गर्नुअघि गर्नुपर्ने संरचनाहरू पुल, कल्भर्ट, कज–वे, ह्युम पाइप, बक्स कल्भर्ट र स्ल्याब ढलानलगायत सबै कामहरू सकिएका ठाउँमा कालोपत्रे गर्ने काम थालिएको र बाँकी ठाउँमा ती कामहरू अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले बताएको छ ।
लोकमार्गको चतारादेखि बसाहासम्म एसियाली विकास बैंकको सहयोगमा ‘नदाहा–कन्चनपुर’ खण्डको सडक निर्माण गतवर्ष नै सम्पन्न भइसकेकाले बसाहादेखि गाईघाट हुँदै कटारी, सिन्धुलीबीचको काम कम्पनीले गरिरहेको छ । यो लोकमार्गले उदयपुरलाई सुनसरी र मकवानपुर हुँदै राजधानी तथा पूर्वी भेगसम्म जोड्न मद्दत पुर्याउँछ । यो सडक कालोपत्रे भएपछि गाईघाटदेखि २ घण्टामा धरान र दुई घण्टामै सिन्धुली पुग्न सकिन्छ ।
२०६४ सालको भदौ महिनामा आएको सप्तकोशीको बाढीले सुनसरीको भान्टाबारी आसपास पूर्व–पश्चिम लोकमार्ग कटान गरेर महिनौं यातायात आवागमन ठप्प भएपछि वैकल्पिक लोकमार्गको अवधारणा अघि सारिएको हो । कालोपत्रे आउँदो असारभित्रै ५० किलोमिटर निर्माण गरिसक्ने लक्ष्य सडक कार्यालयको छ ।
हालसम्म धरानदेखि हेटौंडासम्म २ सय ५० किलोमिटरमध्ये उदयपुर खण्ड १ सय ३४ किमि दूरीमा सडक र पुल दुवैतर्फ गरी ४५ प्रतिशत काम सकिएको आयोजनाले बताएको छ । कार्यालयका अनुसार सडकतर्फ ५५ प्रतिशत र पुलतर्फ ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।



