इन्धनको मूल्य बढ्यो | पेट्रोलको मूल्य ११० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ पुग्यो
काठमाडौं । नेपाल आयल निगमले हिजो शनिवार मध्यरातिदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो । उक्त मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य ११० रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ पुगेको छ ।
निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार इण्डियन आयल कर्पोरेशनबाट साविकको मूल्यमा पेट्रोलमा २ रुपैयाँ २५ पैसा र डिजेलमा ४ रुपैयाँ २८ पैसा मूल्य बढेर आएकाले मूल्य बढाउनुपरेको जानकारी दिएका छन् ।
आन्तरिकतर्फको हवाई इन्धनको मूल्य घटाए पनि निगमले उपभोक्तालाई सीधा असर पर्ने तीनवटा पदार्थको मूल्य भने बढाएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको बताएको छ ।



