नेउवा महासंघ र प्रदेश ३ सरकारबीच सम्झौता |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र र प्रदेश नं. ३ सरकारबीच सार्वजनिक निजी साझेदारी (पीपीपी) कार्यक्रममा बहुवर्षीय साझेदारीसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा मुख्यमन्त्री डोरमणि पौडेलेको उपस्थितिमा प्रदेश ३ सरकारका आर्थिक, मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल र महासंघकी अध्यक्ष भवानी राणाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब सार्वजनिक निजी साझेदारी (पीपीपी) कार्यक्रमको प्रारूपमा आधारित भई राज्यले लिएको लक्ष्य प्राप्त गर्न प्रदेश नं. ३ ले अघि बढाएका कार्यक्रमहरूमा महासंघले पनि बहुवर्षीय साझेदारी गर्नेछ ।
सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ मूल निर्देशिकाको रूपमा तयार गरी त्यसका आधारमा आवश्यकताअनुसार कार्यक्रमहरु तय गरिनेछ ।
कार्यक्रममा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरू हेमराज ढकाल, प्रकाशसिंह कार्की र डीबी बस्नेतको पनि उपस्थिति रहेको थियो ।
सम्झौतामा अर्थ मन्त्रालयबाट स्वीकृत बजेट समयमै कृषि उद्यम केन्द्रलाई चौमासिक रूपमा गर्ने, कार्यक्रमको अनुगमन निरीक्षण र मुल्यांकन गर्ने र कार्यक्रम कार्यान्वयनलाई सहजीकरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उल्लेख छ ।
केन्द्रको तर्फबाट वार्षिक कार्यक्रम बजेट तर्जुमा गरी प्रदेश सरकारसमक्ष स्वीकृतिका लागि पेश गर्ने, प्रदेश सरकारबाट विनियोजित बजेट कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा समयमा नै निकासा पठाउने समझदारी पनि भएको छ ।
Visited 1 times, 1 visit(s) today


