७ सय ५३ रोजगार संयोजकका लागि २४ हजारको आवेदन |
काठमाडौं । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को रोजगार संयोजकका लागि सरकारले ७ सय ५३ जनाका लागि आवेदन आह्वान गरेकोमा २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका छन् । श्रम मन्त्रालयले शुक्रवार अपराह्नसम्म उक्त पदका लागि आवेदन गर्न सकिने व्यवस्था मिलाएको थियो ।
सरकारले आन्तरिक श्रम बजारमा ठूलो संख्यामा रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न रोजगार संयोजक नियुक्त गर्न लागेको हो ।
सो पदका लागि प्रदेश १ मा ३६६५, प्रदेश २ मा ३६७१, प्रदेश ३ मा ४९९४, गण्डकी प्रदेशमा १९५५, प्रदेश ५ मा २३०१, कर्णाली प्रदेशमा ३३७८ र सुदूरपश्चिम प्रदेशमा ४००४ जनाले आवेदन दिएको मन्त्रालयले जानकारी दिएको छ ।
गत पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधासम्बन्धी मापदण्ड, २०७५ स्वीकृत गरेको थियो । तयसैअनुसार सरकारले यही माघ ३ गतेदेखि ७५३ स्थानीय तहमा रोजगार संयोजकको भर्ना प्रक्रिया शुरू गरेको हो ।
मापदण्डअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० हजारभन्दा कम जनसंख्या भएका ४८ स्थानीय तहमा राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) र १० हजारभन्दा बढी जनसंख्ख्या भएका स्थानीय तहमा राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) को रोजगार संयोजकको पद पूर्ति गरिनेछ ।
यसरी छानिएका रोजगार संयोजकले स्थानीय तहमा रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने कार्य गर्नेछन् । साथै, रोजगार संयोजकले स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरको पहिचान गरी सोको सूचना प्रवाह गर्ने, स्थानीय तहभित्रको रोजगारीको सम्भाव्य स्थितिसमेत विश्लेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने, रोजगार नक्सांकन गर्ने र रोजगारीका अवसरको अभिलेखांकन गर्ने कार्य गर्नेछन् ।
त्यसैगरी, रोजगारदाताबाट माग भएबमोजिम सूचिकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, बेरोजगारको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालीमको पहिचान गरी सम्बन्धित तालीम केन्द्रमा सिफारिश गर्ने, बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने र रोजगारसम्बन्धी सरोकारवालालाई सहजीकरण गर्ने काम समेत रोजगार संयोजकले गर्ने बताइएको छ ।

Visited 1 times, 1 visit(s) today


