निगममा देखिएको गतिरोध चाँडै अन्त्य गरियोस् : पर्यटन व्यवसायीहरू |
काठमाडौँ । पर्यटन क्षेत्रका अगुवा १२ भन्दा बढी संघसंस्था तथा व्यवसायीहरूले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी जहाज सञ्चालनमा देखा परेको अन्योल अवरोधप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण बताएका छन् । उनीहरूले आज शनिवार संयुक्त प्रकाशित गर्दै हाल निगममा देखिएको गतिरोधको अन्त्य गर्दै जहाज खरिद र सञ्चालनमा गति दिई पर्यटन प्रवद्र्धनको वातावरण सृजना गर्न सरकारलाई अपिल गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विगत लामो समयदेखि जहाजको आवश्यकता महसुस गरिरहेका पर्यटन उद्योगहरूसँग सरोकार राख्ने संघ, संगठन तथा व्यवसायीहरू निगमले जहाज ल्याउने र सञ्चालन गर्ने कुराले हामी निकै खुशी र उत्साहित भएका थियौं । तर, पछिल्लो समय वाइड बडी जहाज सञ्चालनमा आएको अन्योलताले हामी चिन्तित भएका छौं ।’
सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेसँगै ध्वजावाहक वाइड बडी खरीद प्रकरणमा देखिएको समस्याले सम्पूर्ण पर्यटन व्यवसायीलाई चिन्तित तुल्याएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भ्रमण वर्षलाई असफल बनाउन र निगमलाई कमजोर बनाउन गरिएको यस्तो खालको षड्यन्त्र र अवरोध हामी पर्यटन व्यवसायीहरूलाई स्वीकार्य छैन, यसको हामी घोर आपत्ति जनाउँछौं ।’
संयुक्त विज्ञप्ति प्रकाशित गर्ने संघसंस्थाहरूमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स, नेपाल पर्वतारोहण संघ, होटल एशोसिएशन अफ नेपाल, प्यासिफिक एशिया ट्राभल एशोसिएशन पाटा नेपाल च्याप्टर, हिमालय उद्धार संघ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च, नेपाल पर्यटक यातायात व्यवसायी संघलगायत रहेका छन् ।
Visited 1 times, 1 visit(s) today


