रोल्पाको आर्थिक गतिविधि बढाउन निजीक्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार छ : उपाध्यक्ष ढकाल |
काठमाडौं । आईएमर्ई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रोल्पा जिल्लालाई तीनै तहका सरकारसँग सहकार्य गरी स्थानीय स्तरका आर्थिक गतिविधिलाई बढाउन निजीक्षेत्र तयार रहेको बताएका छन् । रोल्पा राजनीतिक परिवर्तनको उद्गम स्थल रहेकाले पनि अत्यन्तै महत्वपूर्ण जिल्ला भएको बताउँदै उनले यस जिल्लामा पाइने बहुमूल्य जडीबुटीको उचित बजारीकरण गर्न सके मात्रै पनि समग्र रोल्पा र आसपासका क्षेत्रकै समेत समृद्धि हुने बताए ।
आज शुक्रवारदेखि सुलिचौरमा शुरू भएको दोस्रो रोल्पा महोत्सवको उद्घाटनका अवसरमा ढकालले त्यस्तो धारणा राखेका हुन् । रोल्पाको कृषि, जडीबुटी र पर्यटन रोल्पा जिल्लाको समृद्धिको आधार रहेको उनको भनाइ थियो । उक्त महोत्सव आईएमर्ई ग्रुपको मुख्य प्रायोजनमा रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको हो ।
रोल्पामा रहेका खोलानालाबाट जलजलविद्युत उत्पादन गरी रोल्पाको आर्थिक विकासमा टेवा पुर्याउन सकिने उनको भनाइ थियो । हाल रोल्पाली जनताको मुख्य आयस्रोत भनेकै रेमिट्यान्स रहेकाले रोल्पाका गाउँगाउँमा आईएमर्ईको सेवा पुर्याएको उनले जानकारी दिए ।
उनले भने, ‘लिवाङ र सुलिचौरमा सम्पूर्ण बैकिङ सेवासहितका शाखा र घर्तीगाउँमा एक्स्टेन्सन काउण्टरसहित ग्लोबल आईएमई बैंकले सेवा प्रदान गर्दै आएको छ । छिट्टै होलेरीमा एक्सटेन्सन काउण्टर थवाङ, सिर्प, तेवाङ र इरिबाङलगायतका क्षेत्रमा शाखारहित बैकिङ सेवा शुरू गर्छौं ।’
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेको उक्त कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुन, स्थानीय जनप्रतिनिधिहरू, राजनितिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।



