१० प्रतिशत सेवाशूल्क खारेजीको विरोधमा मजदुरहरू आक्रोशित | तीनवटा मजदुर संघद्वारा मंगलवारदेखि देशभरका रेष्टुरेण्ट बन्द गर्ने चेतावनी
काठमाडौं । रेष्टुरेण्ड एण्ड वार एशोसिएशन नेपाल (रेवान) ले हालै १० प्रतिशत सेवाशुल्क खारेज गर्न गरेको निर्णयविरुद्धमा तीनवटा मजदुर संघले विरोध गरेका छन् ।
नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघले त्यस्तो निर्णयको विरोध गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेर देशभरका सबै रेष्टुरेण्ट र बार बन्द गर्ने चेतावनी दिएका छन् ।
तीनवटा मजदुर संघले संयुक्त छलफलपछि आज शुक्रवार यस्तो निर्णय गरेका हुन् । ‘सन् २००८ मा रेवान र फाष्टफुड एशोसिएशन नेपालको होटल तथा रेष्टुरेण्टमा कार्यरत युनियनबीच भएको सम्झौताअनुसार जम्मा भएको १० प्रतिशत सेवा शुल्क कामदार, कर्मचारी र प्रतिष्ठानबीच निश्चित प्रतिशत वाँडफाँड गर्दै आएको तर अहिले रेवानले गलत निर्णय गरेका कारण हामी यसको विरुद्ध निरन्तर लागिरहनेछौं,’ एक मजदुरले भने ।
श्रम नियमावली २०७५ को नियम ८२ अनुसार कानुनी रूपमा वैधानिकता प्रदान गरिएका कारण १० प्रतिशत सेवा शूल्क खारेज गर्नु अन्याय रहेको मजदुरको दाबी छ ।
रेवानले गरेको निर्णयविरुद्ध तीनवटा संघ कानुनी उपचार खोज्ने क्रममा रहेको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष माधव पाण्डेले बताए । संघले आगामी आइतवार दिउँसो ४ बजे मुलुकभर देशव्यापी कोणसभा गर्ने र प्रतिष्ठान स्तरमा रेवानलाई नै सार्वजनिक रूपमा बहिष्कार गर्ने चेतावनी दिएका छन्।
विरोधमा उत्रिएका संस्थाका एक सदस्यले भने, ‘हामी आइतवारदेखि सेवा शूल्क हटाउने रेष्टुरेण्टलाई सञ्चालन गर्न रोक लगाउने कार्यक्रम गर्नेछौं, माघ २२ गतेदेखि मुलुकका सबै रेष्टुरेण्टमा हड्ताल गरिनेछ ।’
गत सोमवार रेवानका उच्च पदाधिकारी र व्यवसायीको बैठकले रेष्टुरेण्टमा लागू लिँदै आएको १० प्रतिशत सेवाशूल्क खारेज गर्ने निर्णय गरेको थियो । तर, त्यसको विरोधमा मजदुरहरूले बुधवार रेवानको विज्ञप्तिसमेत जलाएका थिए ।




