प्रदेश २ सरकारद्वारा महत्वाकांक्षी चारवटा विकास योजना आरम्भको घोषणा |
जनकपुर । २ नम्बर प्रदेश सरकारले विकासको गतिलाई तीव्रता दिन चारवटा प्रादेशिक महत्वाकांक्षी योजनाको काम शुरू गरिएको घोषणा गरेको छ । उक्त प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश २ का आठवटै जिल्लालाई जोड्ने गरी प्रादेशिक सडक निर्माण गर्ने योजना सार्वजनिक गरेका हुन् ।
मन्त्री सोनलका अनुसार उक्त योजनाअन्तर्गत प्रत्येक जिल्लामा २५ देखि ३५ किलोमिटरका दरले करिब २ सय ५० किलोमिटर डबल लेन प्रादेशिक सडक प्रदेशभरमा निर्माण गरिने भएको छ ।
यस्तै, कृषि उत्पादन बढाउन र कृषि रोजगारको आधार सृजना गर्न आठवटै जिल्लामा डिप टयूबेल जडान, बाँध निर्माण, ब्यारेज र नहर निर्माण गरी पानीको स्रोतलाई व्यवस्थापन गरिने भएको छ ।
प्रदेश २ का अति दलित समुदाय डोम, हलखोर, मुसहर र मेस्तर जातिका लागि ‘जनता आवास कार्यक्रम’ अन्तर्गत बासस्थानको व्यवस्था गरिनेछ ।
मन्त्री सोनले भने, ‘प्रदेशमा दलित समुदायका चरम गरिबीमा बाँचिरहेको व्यक्तिहरूका लागि बासको व्यवस्था गर्न तत्काल घर निर्माणको काम शुरू गर्न लागेका छौं । घरविहीनताको अवस्था हटाइसकेपछि क्रमशः सम्पूर्ण दलित एवम् विपन्न समुदायमा यस कार्यक्रमलाई अगाडि बढाइनेछ ।’
उनले प्रदेशको विकासका लागि ५० मेगावाटको सौर्य ऊर्जा (सोलर शक्ति) उत्पादन गर्ने पहलसमेत भइरहेको जानकारी दिए ।
Visited 1 times, 1 visit(s) today


