निगमको काठमाडौं–बैंकक उडानमा आकर्षक योजना | ५ वटा टिकट किन्दा एउटा सित्तैंमा, २६ हजारमा दुईतर्फी टिकट
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–बैंकक उडानमा आकर्षक योजना ल्याएको छ । निगमले थाइल्याण्ड घुम्न जाने नेपालीलाई लक्षित गर्दै काठमाडौं–बैंकक उडानमा पाँचवटा टिकट खरिद गर्नेलाई एउटा सित्तैंमा उपलब्ध गराउने योजना ल्याएको हो ।
निगमका सहायक प्रवक्ता नवराज कोइरालाले उक्त योजना मार्च महिनासम्मका मात्र ल्याइएको जानकारी दिए । हाल निगमले काठमाडौं–बैंककको दुईतर्फी उडानको भाडा २६ हजार रुपैयाँमा विक्री गरिरहेको छ ।
प्रवक्ता कोइरालाका अनुसार केही समयका आकर्षक अफरसहित सस्तोमा टिकट विक्री गर्न लागिएको बताए । उनले भने, ‘पर्यटकको सिजन पनि सकिएकाले हामीले पाँचवटा टिकट किन्नेलाई एउटा टिकट सित्तैंमा दिने अफर ल्याएका हौं । समूह बनाएर घुम्न जाने नेपालीलाई यो अफरले बैंकक घुम्न अझै सस्तो हुनेछ ।’
निगमले हाल उक्त रूटमा हप्तामा सोमवार, वुधवार र शुक्रवार उडान गर्दै आएको छ । यात्रुको संख्याअनुसार निगमले यो गन्तव्यमा १ सय ५८ सिटे न्यारो बडी र २ सय ७४ सिटे वाइड बडी जहाजले उडान गर्दै आएको छ । पछिल्लो समय सस्तो गन्तव्य भएका कारण पनि नेपालीहरूको पहिलो रोजाइमा थाइल्याण्ड नै पर्ने गरेको छ ।



