यस वर्षको प्रणय दिवस पोहोरको भन्दा १५ प्रतिशत महँगो हुने | भ्यालेन्टाइन डेका लागि डेढ करोडको गुलाफ आयात हुँदै
काठमाडौं । यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे) प्रेमीप्रेमिकाहरूका लागि पोहोरको भन्दा महँगो पर्ने भएको छ । प्रेमीले प्रेमिकालाई तथा प्रेमिकाले प्रेमीलाई दिने गुलाफको फूल गतसालभन्दा यस वर्ष १५ प्रतिशतसम्म मूल्यवृद्धि हुने भएकाले यस वर्षको भ्यालेन्टाइन डे महँगो हुने बताइएको हो ।
नेपाल फ्लोरिकल्चर एशोसिएशनले यस वर्षको भ्यालेन्टाइन डेका लागि गत सालको भन्दा रू. २५ लाख बढीको गुलाफको आयात गरिने बताएको छ । गत साल रू. १ करोड २५ लाख मूल्यबराबरको गुलाफको फूल आयात गरिएकोमा यस वर्ष बढाएर रू. १ करोड ५० लाखबराबरको १ लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने एशोसिएशनले जानकारी दिएको छ ।
एशोसिएशनले यस वर्ष माग बढेकाले गतसालको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताएको छ । उक्त संस्थाले यस वर्षको भ्यालेन्टाइन डेका लागि रू. १ करोड ५० लाखबराबरको १ लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने बताएको छ ।
एशोसिएशनका अनुसार गतवर्ष रू. १ करोड २५ लाख मूल्यको गुलाफको फूल आयात भएकोमा यस वर्ष माग बढेकाले भारतबाट गतसालको भन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको छ । यस दिवसमा खपत हुने २ लाख ‘स्टिम’ मध्ये १ लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार ‘स्टिम’ नेपालको उत्पादन रहेको एशोसिएसनले बताएको छ ।
एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठका अनुसार गुलाफ फूलको अन्तरराष्ट्रिय रूपमा नै मूल्य बढेकाले गतवर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य वृद्धि हुनेछ । उनले भने, ‘नेपालमा वार्षिक रू. २० करोडको गुलाफ फूलको कारोबार हुने गरेको छ । यसमध्ये आन्तरिक उत्पादन २० प्रतिशत र बाह्य देशबाट आयात गरिएको ८० प्रतिशतले बजार माग धानिरहेको छ ।’
आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा ६० प्रतिशत खपत हुने जानकारी पनि उनले दिए ।
गतवर्ष प्रतिगुलाफ रू. ४० देखि ८० सम्म तिरेर उपभोक्ताले खरिद गरेका थिए । यस वर्ष ५० देखि १०० सम्म पर्ने हुँदा गतवर्षको तुलनामा यस वर्ष १५ प्रतिशतसम्म मूल्यवृद्धि हुने एशोसिएशनले बताएको छ । यो दिवस पश्चिमा संस्कृतिमा मान्ने परम्परा भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्व दिन थालेको पाइन्छ । प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्छ । तर, उक्त दिनभन्दा एक हप्ताअघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ । प्रेमको प्रतीक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर यो दिवस मनाउने गर्दछन् ।
वि.सं. २००७ सालदेखि नेपालमा शुरू भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै यसको मागमा वृद्धि हुँदै गएको छ । हाल काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६ सय ७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेका छन् ।
अध्यक्ष कसजूका अनुसार ४ सय ५० प्रजातिका गुलाफका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा रोजगारी पाएका छन् । नेपालमा लगभग १५३ हेक्टर क्षेत्रफलमा ७ सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ ।



