मेलम्चीको बाँकी काम स्थानीय ठेकेदारबाट सम्पन्न गर्न निर्देन |
काठमाडौं । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज बिहीवार बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम स्थानीय ठेकेदारबाट सम्पन्न गर्न निर्देशन दिएको छ । समितिकी सभापति दिलकुमारी रावल थापाले आयोजनामा देखिएको गतिरोध समाधान गरी बाँकी काम तीव्र गतिमा अघि बढाउन खानेपानी मन्त्रालयलाई सो निर्देशन दिएकी हुन् ।
यसअघि राष्ट्रिय गौरवको उक्त आयोजनाको निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएमसीले गत डिसेम्बर १५ बाटै ठेक्का सम्झौता एकपक्षीय रूपमा तोडेको घोषणा गर्दै स्वदेश फर्केको अहिलेसम्म काममा फर्केको छैन । काममा फर्कन औपचारिक रूपमा पत्र पठाउँदा पनि कुनै जवाफ नफर्काएका कारण समितिले चाँडो वैकल्पिक व्यवस्थाबाट आयोजनाको निर्माण कार्य अघि बढाउन निर्देशन दिएको हो ।
उक्त ठेक्का औपचारिकरूपमा तोडिएको आयोजना प्रमुख सूर्यराज पौडेलले समितिसमक्ष जानकारी दिए । पछिल्लोपटक सो कम्पनीले एक अर्ब ६५ करोड थप गर्न नेपाल सरकारलाई दबाब दिएको थियो । माग भएको उक्त रकम भुक्तानी गर्न नसकिने जानकारी आयोजनाले दिएपछि कम्पनीका पदाधिकारीले नाटकीय रूपमा नेपाल छाडेका थिए ।
काम छोडेर सीएमसीका प्रतिनिधि फरार भएपछि एशियाली विकास बैंकले आयोजनाको स्थलगत भ्रमण गरेको थियो । त्यसपछि बैंकले आयोजनाका लागि थप ऋण उपलब्ध गराउन सक्ने बताए पनि अर्थ मन्त्रालयबाट ऋणपत्र प्राप्त हुन कठिन भइरहेकाले आयोजना निर्माणमा ढिला भइरहेको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले समितिलाई जानकारी दिए ।
समितिले मेलम्ची खानेपानी आयोजनाका साथै काठमाडौँं महानगरपालिका, खानेपानी मन्त्रालय, खानेपानी संस्थान, काठमाडौं, उपत्यका खानेपानी लिमिटेडका बारेमा पनि जानकारी लिएको थियो । बैठकमा समितिका सदस्य कोमल वली, खिमलाल भट्टराई, प्रकाश पन्त, जीवन बुढा, रामचन्द्र रायलगायतले विभिन्न जिज्ञासा राखेका थिए ।



