काठमाडौं उपत्यकामा अर्को पनि रेल, डीपीआर निर्माणको जिम्मा दिने तयारी |
काठमाडौं । काठमाडौं उपत्यकामा थप अर्को मेट्रो रेल पनि गुडाउने तयारी सरकारले थालेको छ । त्यसका लागि रेल विभागले सातदोबाटो–रत्नपार्क–नारायण गोपाल चोक रुटमा विद्युतीय मेट्रो रेलको अध्ययन गर्न प्रक्रिया अघि बढाएको हो ।
यो रुटमा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना (डीपीआर) निर्माणका लागि इच्छुक कम्पनीहरूले आउँदो चैत ७ गतेभित्र आवेदन दिन सक्ने विभागले बताएको छ । यो रुटमा रेल सञ्चालनका लागि सन् २०११ मा कोरियन कम्पनीमार्फत मेट्रो रेलको सम्भाव्यता अध्ययन गरिएकोमा अब डीपीआर बनाएर परियोजना अघि बढाउने तयारी थालिएको विभागका प्रवक्ता अमन चित्रकारले बताए ।
यो रुटको अर्को खण्डमा भने लगानी बोर्डले काम गरिरहेको छ । बोर्डका अनुसार नागढुंगादेखि धुलिखेलसम्मको ३७ किमिमा मेट्रो रेल सञ्चालनको डीपीआर बनाउन चारवटा कम्पनीले इच्छा देखाएकोमा अब उत्कृष्ट एक कम्पनीलाई छानेर डीपीआर निर्माणको जिम्मा दिने तयारी छ ।
यो रुटमा चाइना रेल्वे सिउवान सर्वे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, राइट्स इण्डिया लिमिटेड, युसिन इञ्जिनीयरिङ कर्पोरेशन सिउल र युकसेल प्रोजे युकसलवारी टर्कीले इच्छा देखाएका छन् । काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालनका लागि काठमाडौं र ललितपुर महानगरपालिकाले संयुक्त रूपमा प्रक्रिया अघि बढाई डीपीआर निर्माणका लागि १ वर्षभित्र सक्ने गरी चिनियाँ कम्पनीलाई जिम्मासमेत दिइसकिएको छ ।




