सप्तकोशी डेभलपमेन्ट र काबेली विकास बैंक मर्जरको तयारीमा | प्रदेश १ कै ठूलो विकास बैंक बन्ने
विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो विकास बैंक हुने लक्ष्यका साथ सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंक एक आपसमा मर्जर हुने भएका छन् । आगामी २०७६ साउन १ गतेदेखि दुबै बैंकले एकीकृत कारोबार गर्ने गरी मर्जर गर्ने समझदारी गरिएको हो । सप्तकोशीका अध्यक्ष तारानाथ निरौला र काबेलीका अध्यक्ष गोपालप्रसाद काफ्लेले मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
अध्यक्ष निरौलाका अनुसार, मर्जरपछि बन्ने बैंकको नाम सप्तकोशी डेभलपमेन्ट बैंक नै हुनेछ । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय धनकुटामा र कर्पोरेट कार्यालय विराटनगरमा राखिनेछ ।
शुरुमा मोरङ, इलाम र पाँचथर कार्यक्षेत्र रहेको सप्तकोशीको स्थापना २०६९ मा गरिएको थियो। तीन महिनाअघि यसको कार्यक्षेत्र विस्तार भएर झापा र सुनसरीसम्म पुगेको थियो । सप्तकोशीको हाल १६ शाखा छन्।् । यसको चुक्ता पूँजी ५२ करोड ३७ लाख रुपैयाँ छ ।
त्यस्तै २०६५ सालमा धनकुटामा खुलेको काबेलीको कार्यक्षेत्र धनकुटा र तेह्रथुम छ । काबेलीले यसअघि तेह्रथुमको माउन्ट मकालु विकास बैंकसित मर्जर गरेको थियो । यसका हाल ७ शाखा छन्।् । यसको चुक्ता पूँजी २८ करोड ४३ लाख रुपैयाँ छ ।
मर्जरपछि बैंकको चुक्ता पूँजी ८१ करोड रुपैयाँ पुग्ने छ । नेपाल राष्ट्र बैंकले प्रादेशिक स्तरको बैंक हुन १ अर्ब २० करोड चुक्ता पूँजी चाहिने भनी बनाएको नियमअनुसार यस बैंकले हकप्रद र बोनस शेयर मार्फत पूँजी वृद्धि गर्ने निरौलाले जानकारी दिए ।
मर्जरपछि बैंकले दुई वर्षभित्र प्रदेश नम्बर १ का १४ वटै जिल्ला र सबै स्थानीय तहमा शाखा खोल्ने लक्ष्य लिएको छ । मर्जर लगत्तै प्रदेश नम्बर १ मा केन्द्रीय कार्यालय भएको विकास बैङ्कमा सबैभन्दा धेरै जिल्ला र शाखामा कार्यक्षेत्र भएको बैङ्क हुने सञ्चालकको भनाई छ ।



