सिन्धुलीको ‘प्रथम फिक्कल महोत्सव २०७५’ मा हजारौं दर्शकको भीड | ब्राम्हण जातिको भजनदेखि चर्चित गायिका ज्योति मगरका सनसनीपूर्ण दोहोरी गीतसम्म
फिक्कल, (सिन्धुली) । सिन्धुलीको फिक्कल गाउँपालिको आयोजनामा यही पुस २ गतेदेखि फिक्कल– ४, खाङसाङबेंसीमा ‘प्रथम फिक्कल महोत्सव २०७५’ भव्यताका साथ सञ्चालन भइरहेको छ । ‘सडक, शिक्षा र बिजुली फिक्कलको पूर्वाधार, कृषि, वन र पर्यटन समृद्धिको मूल आधार’ मूल नाराका साथ सञ्चालन भइरहेको उक्त मेलाको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेका हुन् ।

फिक्कललाई ‘महाभारत ट्रेकिङ ट्रेल’ मा पार्ने प्रतिवद्धता
महोत्सवको उद्घाटन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाले फिक्कललाई पनि सरकारले परिकल्पना गरेको ‘महाभारत ट्रेकिङ ट्रेल’अन्तर्गत पारेर पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने बताए । उनले ललितपुरको फुलचोकी हुँदै भूमेचुली, घ्याङडाँडा, लाँकुरी डाँडा र फिक्कलसम्मै पदयात्राको मार्ग खोली पर्यटन प्रवद्र्धन गर्न सरकारले सक्दो सहयोग गर्ने बताए ।
आगामी जेठसम्ममा फिक्कलमा टेलिफोन राम्ररी चल्ने
सो अवसरमा मन्त्री बाँस्कोटाले बिजुली र टेलिफोनसमेतबाट वञ्चित रहेको उक्त गाउँपालिकामा आगामी जेठसम्ममा टेलिफोन सेवा राम्ररी चल्ने बनाइने र एक वर्षभित्रैमा विद्युत्का लागि राष्ट्रिय प्रसारण लाइन पुर्याइने प्रतिवद्धता व्यक्त गरे ।
विद्यालयलाई २० वटा कम्प्युटर, पालिकालाई फोटोकपि मेशिन, ल्यापटप र डेस्कटप कम्प्युटर
उनले खाङसाङबेंसीमा रहेको माध्यमिक विद्यालयलाई १८ देखि २० वटा कम्युटर उपलब्ध गराई आधुनिक शिक्षाको पहुँच गाउँका विद्यार्थीहरूसम्म पुर्याउने र गाउँपालिकाका लागि केही थान फोटोकपि मेशिन, ल्यापटप र डेस्कटप कम्प्युटर पनि उपलब्ध गराइदिने प्रतिवद्धता व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा विशेष अतिथिका रूपमा प्रतिनिधिसभाका सदस्य गणेश पहाडी, प्रतिनिधिसभाकै अर्का सदस्य यज्ञराज सुनुवार, सांसद कल्याणी खड्कालगायतको उपस्थिति रहेको थियो ।
कृषि, जलस्रोत, पर्यटन, जडीबुटी आदिको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त महोत्सवको आज तेस्रो दिन पनि हजारौं दर्शकहरूको भीड लागिरहेको छ । विभिन्न जातजातिका धार्मिक तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको उक्त मेलामा स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठ, दुग्धजन्य वस्तु तथा अल्लोका कपडाहरू, गाउँपालिकाभित्रका भएका मौलिक उत्पादनहरूको प्रतियोगितात्मक प्रदर्शनी, सो क्षेत्रमा उत्पादन हुने किवी तथा आलुलगायत अन्य कृषि उत्पादनहरूको प्रदर्शनी गरिएको छ । झण्डै १२० वटा स्टल रहेको उक्त महोत्सवमा वित्तीय संस्था तथा अन्य सेवामूलक संघसंस्थाहरूका सेवाबारे जानकारी दिने स्टलहरू पनि रहेका छन् ।
मुख्य आकर्षण प्याराग्लाइडिङ र -याफ्टिङ

प्याराग्लाइडिङको समेत मजा लिन पाइने उक्त महोत्सवमा छिमेकी गाउँपालिका गोलञ्जोरको च्याकुटारदेखि उदयपुरको घुर्मी बजारसम्म सुनकोशीमा -याफ्टिङको व्यवस्था पनि गरिएको छ । महोत्सवमा जिल्लाकै अग्लो डाँडा फिक्कलको पैदल यात्रा गरी किवी र आलुका लागि चर्चित क्षेत्र दमारको अवलोकन गर्ने व्यवस्था पनि गरिएको छ । महोत्सवमा ब्राम्हण जातिको भजनदेखि यस क्षेत्रका विभिन्न जातजातिका धार्मिक तथा सांस्कृतिक झाँकीहरू र चर्चित कलाकार ज्योति मगरका सनसनीपूर्ण लोकदोहोरी गीत समेत सुन्न पाइनेछ । महोत्सव अवधिभर नै मनोरञ्जनका लागि नेपालका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति हरेक दिन प्रत्यक्ष हेर्न पाइने व्यवस्था गरिएको छ । उक्त मेलामा दोहोरी गीत प्रतियोगिता र अन्तरविद्यालय गायन तथा नृत्य प्रतियोगिता पनि आयोजना गरिएको छ ।

यही पुस ७ गतेसम्म चल्ने उक्त महोत्सवमा लौरो खेलाइ प्रदर्शनीसमेत राखिएको छ । उद्योग, पर्यटन कृषिसम्बन्धी अन्तरक्रिया, क्रेता र विक्रेताबीच अन्तरक्रियाजस्ता कार्यक्रम पनि महोत्सवमा राखिएको छ ।




