जनता बैंकले सर्वोत्कृष्ट भलिबल टिमलाई नगद २ लाख दिने |
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले खेलाडीहरुलाई प्रदान गरिने बभिन्न पुरस्कारहरुमा प्रायोजन गर्दै आइरहेको छ । बैंकले एनभीए अवार्ड सेरेमोनीमा प्रदान गरिने बर्षको सर्वोत्कृष्ट पुरुष र महिला टिमको लागि नगद पुरस्कार २ लाख रुपैयाँ (प्रति टिम एक लाख रुपैयाँ) प्रायोजन गर्ने भएको छ । साथै उक्त प्रायोजन आगामी ५ बर्ष सम्म उपलब्ध गाराउने भएको छ ।
कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाई समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने कुरालाई दृष्टिगत गरी प्रायोजन गरिएको हो ।
जनता बैंक नेपाल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा बिच पुरस्कार प्रायोजन सम्बन्धि एक संझौतामा हस्ताक्षर भएको छ ।
नेपाल भलिबल संघले भलिबल खेलको विकास र विस्तारको लागि निरन्तर रुपमा खटी काम गर्ने संघ संस्था, व्यक्तित्वहरु लगायत राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम र खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले २०७४ साल देखि एनभीए अवार्ड प्रदान गर्दै आइरहेको छ ।
गत पौष १३ गते नेपाल राष्ट्रिय अन्तरराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा बर्षको सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला तर्फ गरी कूल २ लाख रुपैयाँको पुरस्कार पनि जनता बैंकको प्रायोजनमा प्रदान गरिएको थियो । उक्त पुरस्कार पनि आगामी ५ बर्षको लागि प्रदान गरिने गरी संझौता गरिएको छ ।




