राजस्व उठाउन सरकारको नयाँ योजना | पर्सि सोमवारसम्ममा बुझाउनेलाई सुविधै सुविधा
काठमाडौं । सरकारले विगतमा स्थायी लेखा नम्बर लिई आर्थिक कारोबार गरिरहेका तर करको दायरामा नआएका व्यक्तिहरूका लागि नयाँ योजना ल्याएको छ । उक्त योजनाअनुसार आर्थिक वर्ष २०७१७२ देखि २०७३७४ सम्मको आय विवरण र त्यसमा लाग्ने कर पर्सि पुस मसान्तसम्म बुझाएमा त्यसबापत लाग्ने शुल्क तथा ब्याज मिन्हा हुने आन्तरिक राजस्व विभागले बताएको छ ।
त्यस्तै, करको दायरामा आएका तर आर्थिक वर्ष २०७२७३ वा त्यसभन्दा अघिसम्मको आय विवरण पेश नगरेका व्यक्तिले २०७१७२ र २०७२७३ को आय विवरण र त्यसमा लाग्ने आयकर पुस मसान्तसम्म बुझाएमा त्यसभन्दा अघिका वर्षहरूको आय विवरण र कर तिर्नुपर्ने तथा त्यसमा लाग्ने कर शुल्क तथा ब्याजसमेत मिन्हा हुनेछ ।
संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएका समाजिक संस्थाहरूले पनि आव २०७४७५ को आय विवरण तथा त्यसअनुसार लाग्ने कर पुस मसान्तसम्म बुझाएमा आर्थिक बर्ष २०७४७५ भन्दा अघिका वर्षहरूको विवरण, कर, जरिवाना तथा थप दस्तुर ब्याज मिन्हा पाउनेछन् ।
२०७४ सालको असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदाताले कर विवरण र मूल्य अभिवृद्धि कर रकम पुस मसान्तभित्र बुझाएमा पनि जरिवाना र ब्याज तिर्नु पर्दैन ।
सरकारले चालू आवभरिको कारोबारको अनुमानित विवरण र त्यस अनुसार तिर्नुपर्ने कुल करको ४० प्रतिशत रकम बुझाउन पनि करदाताहरूलाई निर्देशन दिएको छ । कर इपेमेन्टबाट पनि बुझाउन सकिने विभागले जनाएको छ ।


