हरेक शुक्रबार नेपाल मेडीसिटी अस्पतालमा निःशुल्क मुटुरोग परामर्श |
काठमाडौं । नेपाल मेडीसिटी अस्पताललमा सर्वसाधारणहरुले हरेक शुक्रबार मुटुरोगको निशुल्क परामर्श पाउने भएका छन् । नयाँ वर्ष २०१९ को उपलक्ष्यमा अस्पतालले प्रत्येक शुक्रबारको दिन बिहान ९ बजेदेखी दिउँसो १ बजेसम्म मुटुरोग विशेषज्ञहरुसँग निःशुल्क परामर्शको अवसर प्रदान गर्ने भएको हो ।
मुटुरोगको परामर्शको आवश्यकतालाई मध्यनजर गरी अस्पतालले सर्वसाधारणका लागि विशेष अभियान सञ्चालन गरेको जनाएको छ । धेरै जसो मानिसमा मुटुरोगको लक्षण महशुस नहुने र समस्या हुँदा हुँदै पनि त्यसबारेमा अवगत नहुने भएका कारण मुटु सम्बन्धि समस्या या मुटुरोग बढ्दै गएका कारण यो अभियानले बेलैमा समस्याको पहिचान र उपचारमा टेवा पुग्ने विश्वास गरिएको छ ।
नेपाली समुदायमा अझैपनि समस्या नदेखिएसम्म अस्पतालमा उपचार गर्ने अभ्यास नरहेकाले स्वस्थ अवस्थामा पनि उपचार गरी ढुक्क रहन यस अभियानले प्रेरीत गर्नेमा अस्पतालका मुटुरोग विशेषज्ञहरुको अपेक्षा रहेको छ ।
मुटु सम्बन्धि समस्याको परामर्शका लागि आउनुपूर्व नाम दर्ता गर्न नेपाल मेडीसिटी अस्पतालको व्यस्थापनले अनुरोध गरेको छ । परामर्शसँगै थप परीक्षण गर्नुपर्ने खण्डमा अस्पतालले विशेष सहुलियत समेत प्रदान गर्ने जनाएको छ । इसीजी, इको, ब्लड सुगर, लिपिड प्रोफाइल, र क्रिएटिनाइन लगायतको परिक्षणमा सहुलियत दिने अस्पतालले जनाएको छ। आगामी ३ महिनासम्मका लागि लागुहुने यस अवसरबाट मुख्यतः ४० वर्ष उमेर माथीका जोकोहिले पनि लाभ लिन सक्नेछन्।् ।



