अपर हेवा खोला हाइड्रोपावरको शेयर विक्री प्रबन्धकमा एनएमबी क्यापिटल |
काठमाडौं । अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब एनएमबी क्यापिटलले नै उक्त कम्पनीले निष्कासन गर्ने २० लाख कित्ता साधारण शेयरको निष्कासन तथा विक्री गर्नेछ ।
सोसम्बन्धी सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक डेडराज खड्का र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद नेपालले हस्ताक्षर गरेका हुन् ।
कम्पनीको प्रदेश नं. १ अन्तर्गत संखुवासभा जिल्लाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवा खोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत् आयोजना अहिले निर्माणाधीन अवस्थामा रहेको छ । कम्पनीले ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिने जानकारी दिएको छ ।
कम्पनीले आगामी मंसिरसम्ममा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र फागुन मसान्तभित्रमा सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने लक्ष्य रहेको बताएको छ ।



