सिटिजन्स बैंकका प्रादेशिक कार्यालय अब सातै प्रदेशमा |
काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले सातै प्रदेशका लागि प्रादेशिक कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश नं ३ को प्रादेशिक कार्यालय काठमाडौंको डिल्लीबजारस्थित आफ्नै भवनमा सञ्चालनमा ल्याएसँगै बैंकका सातै प्रदेशका प्रादेशिक कार्यालय सञ्चालनमा आएका हुन् ।
प्रदेश ३ को प्रादेशिक कार्यालयको उद्घाटन बैंकका अध्यक्ष डा. शंकरप्रसाद शर्माले ताम्रपत्र अनावरण गरी गरेका हुन् । प्रदेश नं ३ अन्तर्गत बैंकका ३४ वटा शाखाहरू (काठमाडौं उपत्यकाभित्र २६ र उपत्यकाबाहिर ८ वटा) छन् । कार्यालयले यी शाखाहरूसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाइजस्ता कार्यहरू प्रादेशिक कार्यालयबाट गर्ने बताएको छ ।
प्रदेश नं ३ मा रहेका १४ जिल्लामध्ये ९ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिब २ लाख ६० हजार ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ । प्रदेश न ३ मा बैंकले करिव ५७ अर्ब निक्षेप परिचालन गरी ४५ अर्ब कर्जा प्रवाह गरेको छ ।
यसअघि बैंकले प्रदेश नं १ को विराटनगरमा, प्रदेश नं २ को वीरगञ्जस्थित आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमा, प्रदेश नं ५ को नेपालगञ्जमा र प्रदेश नं ६ को सुर्खेतमा, प्रदेश नं ७ को धनगढीमा कार्यालय स्थापना गरिसकेको छ । नियमनकारी निकायको निर्देशनअनुसार सबै प्रदेशमा कार्यालय खोलेको बैंकले बताएको छ ।



