न्यूरोडको महर्जन कम्प्लेक्स वैशाखदेखि सञ्चालनमा आउने |
काठमाडौं । राजधानीको मुटु न्यूरोडमा निर्मामाणाधीन महर्जन कम्प्लेक्स आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ । उक्त अत्याधुनिक कम्प्लेक्स सञ्चालनमा आएसँगै एक हजार जनाले रोजगारी पाउने बताइएको छ ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको निकाय युनेस्कोले समेत तारिफ गरेको उक्त व्यावसायिक भवन ९ रेक्टर स्केलको भुइँचालो थेग्ने गरी बनाइएको दाबी यसका प्रवद्र्धक कृष्णलाल महर्जनको छ । बाहिरी स्वरूप एकदमै सम्पदामैत्री रहेको यस भवनको भित्र भागमा अत्याधुनिक एस्क्यालेटर, इलाभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी र फायर फाइटिङ सिष्टमसहित अत्याधुनिक रूपमा निर्माण गरिएको छ ।
परम्परागत शैलीमा निर्माण गरिए पनि यसको बीचभागमा ४० प्रतिशत खुला ठाउँ छाडिएको छ जसले गर्दा कम्प्लेक्सभित्र अक्सिजनसहितको खुला हावा उपलव्ध हुनेछ ।
साविकमा क्रिस्टल होटल रहेको जग्गामा बनेको देशकै पहिलो सम्पदामैत्री ‘महर्जन कम्प्लेक्स’लाई लिएर दायर मुद्दामा सर्वोच्च अदालतले कम्प्लेक्स प्रवद्र्धकको पक्षमा फैसला गरेपछि सञ्चालनको बाटो खुलेको हो ।
उक्त कम्प्लेक्समा करिब पाँच दर्जन पसल कबल रहनुका साथै निकट भविष्यमै स्पेस बुकिङ खुला हुने प्रवद्र्धकहरूले जानकारी दिएका छन् ।



