एनआईसी एशियाले ५० भन्दा बढी देशबाट शुरू गर्यो इनवार्ड रेमिट्यान्स सेवा |
काठमाडौं । एनआईसी एशिया बैंक र वर्ल्ड रेमिट लिमिटेड यूकेबीच इनवार्ड रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतासँगै बैंकले वर्ल्ड रेमिटसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिट्यान्सको सेवा शुरू गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट गत मंसिर २३ गते ५० भन्दा बढी देशबाट इनवार्ड रेमिट्यान्सका लागि अनुमति पाएको थियो ।
उक्त सम्झौताअनुसार वर्ल्ड रेमिट लिमिटेडमार्फत कतार, साउदी अरेबिया, यूएई, कुवेत, वापान, क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, यूके, अमेरिका, यूरोपलगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरूले नेपालमा रहेका आफन्तहरू वा अन्य व्यक्तिहरूले पाउने गरी पठाएको विप्रेषण एनआईसी एशिया बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयबाट सरल र सहज रूपमा भुक्तानी पाउन सकिने बैंकले बताएको छ ।
बैंकका अनुसार वर्ल्ड रेमिटका ग्राहक महानुभावहरूले एजेन्टमार्फत विप्रेषण सेवा नलिकन आफैं आफ्नो मोबाइलमार्फत परिवार तथा साथीहरूलाई तुरुन्त भुक्तानी पाउने गरी पनि पठाउन सकिने जानकार िबैंकले दिएको छ । यस्तो सेवाले ग्राहकहरूको समय तथा पैसाको समेत बचत हुने विश्वास बैंकको छ ।
एनआईसी एशिया बैंकले हाल २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एवम् २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एवम् आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
हाल यस बैंकको वासलातको आकार २१५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब रुपैयाँ तथा कर्जा १४६ अर्ब रुपैयाँ पुगिसकेको छ । हालसम्म ग्राहक संख्या करिब १४ लाख पुर्याउन सफल भइसकेको यस बैंकले सरकारको नीतिअनुरूप नेपालका दूरदराजमा समेत शाखा कार्यालय स्थापना गरेर ग्रामीण क्षेत्रका जनतालाई पनि बैंकिङ पहुँचमा ल्याउन अभियान नै सञ्चालन गरिरहेको छ ।



