साञ्जेन जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त |
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेड महाराजगञ्जले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड कमलपोखरीलाई नियुक्त गरेको छ ।
शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा जलविद्युत कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ तथा सनराइज क्यापिटलका तर्फबाट प्रम्ुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले पुस १६ गते सोमबार हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै साञ्जेन जलविद्युत कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण कार्यहरु सनराइज क्यापिटलले गर्नेछ ।
आयोजनाले आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दा र सर्वसाधारणहरुको लागि गरि कूल ९१ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्नेछ । जसमध्ये सर्वसाधारणहरुको लागि ५४ लाख ७५ हजार कित्ता शेयर र आयोजना प्रभावितका लागि ३६ लाख ५० हजार कित्ता निष्काशन हुनेछ ।
सो आईपीओ निष्काशन गर्न साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले सह–निष्काशन तथा विक्री प्रबन्धक यसअघि नियुक्ति गरिसकेको छ । नागरिक लगानी कोषको जिम्मेवारीमा मार्फत निष्काशन हुने उक्त आईपीओमा सनराईज क्यापिटल र एनएमबी क्यापिटललाई सह–निष्काशन तथा विक्री प्रबन्धकको रुपमा सामेल गराउने सम्झौता भइसकेको छ ।
पहिलो चरणमा साञ्जेन जलविद्युत्त कम्पनीले गत फागुन ११ देखि ३० गतेसम्म तथा चैत ५ देखि १३ गतेसम्म कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताका र संस्थापक सेयर लगानी गर्ने संस्थाका कर्मचारीहरुका लागि सीमित साधारण सेयर निष्काशन गरेको थियो ।
सो आईपीओमा कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताले साञ्जेनमा ३० देखि ४० कित्ता शेयर प्राप्त गरेका छन् । उता संस्थापक सेयर लगानी गर्ने संस्थाका कर्मचारीहरुलाई ५० कित्तादेखि १५० कित्तासम्म साञ्जेनको शेयर बाँडफाँड गरिएको थियो ।
Visited 1 times, 1 visit(s) today


