सर्वोच्चको आदेश सीजी टेलिकमको पक्षमा | सीजीलाई मोबाइल सेवा सञ्चालन गर्ने बाटो खुल्यो, २०१९ भित्रै फोरजी सेवा
काठमाडौं । नेपालमा अब सीजी कम्युनिकेसन प्रालि (सीजी टेलिकम) को मोबाइल सेवा सञ्चालनमा आउने भएको छ । सर्वोच्च अदालतको पुस १० गतेको आदेशले उक्त कम्पनीलाई मोबाइल सेवा सञ्चालन गर्ने बाटो खुलेको हो ।
यसअघि उक्त कम्पनीले सरकारबाट अनुमति पाइसके पनि दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयलाई अस्वीकार गर्दै मोबाइल सेवा सञ्चालन गर्न अनुमति दिएको थिएन । कम्पनीले प्राधिकरणले अनुमति नदिएपछि सर्वोच्चमा रिट दायर गरेको थियो ।
अदालतले सो कम्पनीको पक्षमा फैसला सुनाउँदै सरकारबाट अनुमति पाइसकेकाले उक्त कम्पनीलाई मोबाइल सेवा सञ्चालन गर्न अनुमति दिनू, कुनै बाधा अवरोध नगर्नू भनी दूरसञ्चार प्राधिकरणलाई अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उक्त आदेश दिएको हो ।
प्राधिकरणले गत पुस ४ गते फ्रिक्वेन्सी लिलाम बढाबढका लागि सूचना प्रकाशित गरेपछि सीजी टेलिकम प्राधिकरणका विरुद्ध सर्वोच्च अदालत गएको थियो । आदेशमा भनिएको छ, ‘निवेदक सीजी कम्युनिकेसन प्रालि (सीजी टेलिकम) लाई आधारभूत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको देखिँदा उक्त अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यक पर्ने कुनै पनि कार्य गर्न नरोक्नु रोक्न नलगाउनु तथा निजलाई कुनै बाधा अवरोध नगर्नू, नगराउनू ।’
अदालतले आदेशमा भनेको छ, ‘आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र सञ्चालनमा ल्याउन आवश्यक पर्ने अन्य सेवा प्रदायक सरह समान हक स्थापित गर्नसमेत आवश्यक फ्रिक्वेन्सी निवेदक (सीजी टेलिकम) लाई वितरण गर्न कानूनबमोजिम जेजे कत्र्यव्य पूरा गर्नुपर्ने हो, गर्नू गराउनू । निवेदकले प्राप्त गरिसकेको फ्रिक्वेन्सी प्रयोग गर्न कुनै अवरोध नगर्नू तथा अन्य सेवा प्रदायक सरह व्यवहार गर्नू ।’
सर्वोच्चले फ्रिक्वेन्सी लिलाम बढाबढ गर्ने प्राधिकरणको सूचना कार्यान्वयन नगर्न पनि आदेश गरेको छ । मन्त्रिपरिषद्को २०७४ जेठ १५ गतेको बैठकले उक्त कम्पनीलाई मोबाइल सेवा सञ्चालनको अनुमति दिने निर्णय गरे पनि प्राधिकरणले प्राधिकरणले फ्रिक्वेन्सी प्रदान गर्ने एवम् उपकरण आयातलगायतका कार्य गर्न अनुमति दिने मामिलामा अवरोध गरेको थियो । प्राधिकरणले अनुमति नदिएपछि सेवा सञ्चालन गर्न विलम्ब हुँदै आएको थियो ।
सीजी टेलिकमले अदालतको यो आदेशसँगै मोबाइल सेवा सञ्चालनका लागि गर्नुपर्ने काम तीव्र गतिमा शुरू गरिहाल्ने जानकारी दिएको छ । चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले भने, ‘प्राधिकरणको अनुमति नपाउनाले नै सेवा सञ्चालनमा विलम्ब हुँदै आएको थियो । हामी मोबाइल सेवा सञ्चालनका लागि तयारी अवस्थामा छौं । अब सर्वोच्च अदालतबाट आदेश आइसकेको छ, सेवा सञ्चालनका लागि तीव्र गतिमा काम अगाडि बढ्छ ।’
पौडेलले भने, ‘सर्वोच्च अदालतको आदेशपछि अब सबै अवरोधहरू अन्त्य भएका छन् । काम अब तीव्र गति हुन्छ । हाम्रो सेवा भनेको अन्तरराष्ट्रियस्तरको पछिल्लो पुस्ताको प्रविधि फोरजी प्रविधिमा आधारित हुनेछ र सीजी टेलिकमको मोबाइल सेवा २०१९ भित्रै सञ्चालनमा ल्याउने लक्ष्य छ ।’
कम्पनीले हाल नेपाली बजारमा उपलब्ध मोबाइल सेवाको गुणस्तरको तुलनामा उच्च गुणस्तरको भ्वाइस र डाटा अत्यधिक सस्तो दरमा उपलब्ध गराउने दाबी पनि गरेको छ ।





