नेपाल–भियतनाम चेम्बरबीच व्यापार तथा लगानी अभिवृद्धि सम्झौता |
काठमाडौं । नेपाल–भियतनाम चेम्बर अफ कमर्श र भियतनाम चेम्बर अफ कमर्श हुचिमिनबीच सम्झौता भएको छ । दुवै संस्थाबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि गर्नेसम्बन्धमा हुचिमिन शहरमा उक्त सम्झौता भएको हो ।
सोसम्बन्धी सम्झौतापत्रमा नेपाल–भियतनाम चेम्बरका अध्यक्ष दीपक मलहोत्रा र भियतनाम चेम्बर हुचिमिनका नाग्योन द हङले हस्ताक्षर गरेका हुन् । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा चेम्बर अध्यक्ष श्रेष्ठले नेपालमा तीन तहको निर्वाचनपछि स्थायी सरकार आएको बताउँदै लगानीका लागि उपयुक्त समय रहेको बताए । उनले भियतनाममा बहुसंख्यक नागरिक बौद्ध धर्मावलम्बी रहेको बताउँदै बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण गर्ने वातावरण तयार गर्न आग्रह गरे ।
उनले भने, ‘अहिले भारतको बोधगयामा धेरै भियतनामी पर्यटक जाने गरेका छन् । तर बुद्ध जन्मिएको स्थान लुम्बिनीमा भियतनामका नागरिक कमै मात्र गएका छन् । दुई देशबीच सीधा हवाई उडान हुन नसक्दा यस्तो अवस्था आएको हो ।’
उनले थपे, ‘एक वर्षभित्रमा लुम्बिनीमा अन्तरराष्ट्रिय विमानस्थल बनिसकेपछि भियतनामबाट नेपालमा सीधा उडान होस् भन्ने हामीले चाहेका छौं ।’
नेपाल भियतनाम चेम्बरका अध्यक्ष मलहोत्राले लामो नेपालमा लामो राजनीतिक अस्थिरतापछि अहिले स्थायी सरकार आएको छ । यसले गर्दा पनि नेपालमा लगानीका लागि उपयुक्त अवसर आएको उनको भनाइ थियो । हङले भियतनामबाट नेपालमा सीधा हवाई उडानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।



