नेपाली र चिनियाँ मुद्रासहित दुई विदेशी नागरिक पक्राउ |
काठमाडौं । काठमाडौंको बौद्धबाट स्रोत नखुलेको नेपाली र विदेशी मुद्रा तथा एक थान मूर्तिसहित दुई जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–६, बौद्धस्थित टुसालबाट स्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँ तथा ४ हजार ३ सय चिनियाँ युआन र एक थान मूर्तिसहित भारतीय नागरिक छिरिङ दोर्जे र चिनियाँ नागरिक ४२ वर्षीय पञ्चाउडीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानी पोखरीकी प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले जानकारी दिएकी हुन् ।
उनका अनुसार महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गत बिहीवार राति पौने ११ बजे चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
छिरिङ दोर्जेले चलाएको बा६४प ११०९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको डिकीभित्र अन्दाजी डेढ किलो सुनजस्तो पहेँलो धातुको बुद्धको मूर्ति एक थान तथा स्कुटरमा सवार चिनियाँ नागरिक पञ्चाउडीले बोकेको झोलामा सो मात्रामा युआन र नेपाली रुपैयाँ फेला पारिएको प्रहरीले बताएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चोरीका सामानसहित ४ जना पक्राउ
त्यसैगरी, प्रहरीले काठमाडौं महानगरपालिका– ३३, पानीपोखरीबाट चोरीका सामान र चोरी गर्दा प्रयोग गर्ने विभिन्न औजारसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले चेक जाँचका क्रममा काभ्रे फुलबारी चोक घर भई काठमाडौंको नयाँबजार बस्ने १६ वर्षीय प्रज्वल तामाङ, रामेछाप घर भई काठमाडौंको ढल्कु बस्ने १५ वर्षीय अनिल तामाङ र मकवानपुरको पालुङ घर भई काठमाडौं स्वयम्भु बस्ने १५ वर्षीय राजीव देउलालाई चोरीमा प्रयोग हुने विभिन्न औजारहरू र १ थान ल्यापटपसहित पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा उनीहरूसँग विभिन्न चोरीमा संलग्न दोलखा सिंगटी– २ घर भई काठमाडौं पक्नाजोल बस्ने वर्ष १६ को निमा तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार निमाको कोठा र ढल्कु स्थित तण्डुकार होटलमा लुकाई छिपाई राखेको अवस्थामा २ थान ल्यापटप, ९ थान मोबाइल, १ थान धलौटको मुर्ति, १ थान सुनजस्तो देखिने औंठी, १ थान तिलहरी, १ थान चाँदीको पाउजु, २ थान चाँदीको चुरा, २ थान चाँदीको औंठी, १ थान चाँदीको सिक्री, ७५ थान मोडेल ५० लेखेको क्याप्सुल, १ थान घडी, १ थान पेस्तोल आकारको लाइटर, १ थान लेडिज ब्याग, २ थान लुगा बोक्ने झोला बरामद गरिएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



