फागुन मसान्तसम्म यातायात समिति नै कायम | समितिले अब फागुन मसान्तसम्ममा कम्पनीमा रुपान्तरण भए हुने भो

काठमाडौं । सरकारले यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन दिएको समय थपेर फागुन मसान्तसम्म पुर्याएकोे छ । यसअघि पुस मसान्तसम्ममा कम्पनीमा दर्ता हुने गरी समयसीमा तोकिए पनि गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको यातायात सेवा सञ्चालन, दर्ता तथा पञ्जीकरणसम्बन्धमा व्यवस्था गर्न बनेको समितिले दुई महिना समय थप गर्ने निर्णय गरेको हो ।
यातायात व्यवस्था विभागले प्रकाशित गरेको प्रेस विज्ञप्तिअनुसार यातायात व्यवसायी समितिहरू फागुन मसान्तसम्ममा कम्पनीमा रुपान्तरण भइसक्नुपर्नेछ । कम्पनीमा रुपान्तरण गर्न कम्पनी ऐनको दफा ९ मा केही परिवर्तन आवश्यक देखिएकाले समयावधि थप गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ । विभागले शनिबार यससम्बन्धी जानकारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पनि गराएको बताएको छ ।
सरकारले यसअघि वैशाखमा यातायात सिण्डिकेट खारेजीको घोषणा गर्दै यातायात व्यवसायीका समिति कम्पनीमा रुपान्तरण हुनुपर्ने घोषणा गरेको थियो । त्यसअनुसार पुस मसान्तसम्मको समयावधि दिइएको भए पनि फेरि बढाएर फागुन पुर्याइएको छ ।