भारतको केन्द्रीय बैंकका गभर्नर पटेलद्वारा राजीनामा |

नयाँ दिल्ली । भारतको केन्द्रीय बैंकका गभर्नरले हिजो सोमबार राजीनामा दिएका छन् । भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इण्डिया’का गभर्नर उर्जित पटेलले प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण राजीनामा दिएको बताइएको छ ।
राजीनामा दिएपछि पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसकेकाले राजीनामा दिनुपरेको बताएका छन् । सरकारले गरेका कतिपय दबाबलाई थेग्न र सहमत हुन नसकेर उनले राजीनामा दिएको बताइएको छ ।
केन्द्रीय बैंकको नीतिमा सरकारका तर्फबाट पटकपटक दबाब आएको समाचार यसअघि सार्वजनिक हुँदै आएका थिए । भारतमा अहिले केन्द्रिय बैंकको स्वतन्त्रतासम्बन्धी विवाद देखिएको छ । भारतीय कानूनअनुसार सरकारले दिएका केही आदेशलाई केन्द्रीय बैंकले पालना गर्नैपर्ने हुन्छ ।
भारतमा कतिपय विज्ञहरूले उनलाई कुशल गभर्नरका रूपमा लिने गरेका छन् । उनको राजीनामासँगै भारतमा नयाँ आशंका र चिन्ता छाएको छ । भारतमा अहिले विशेष गरेर ब्याजदर, भारतीय मुद्राको मूल्यलगायतका विषयमा विवाद चर्किदै गएको छ । तत्कालीन गभर्नर रघुराम राजनले सरकारसँगको असमझदारीपछि राजीनामा दिएपछि २०१६ को सेप्टेम्बरमा पटेल गभर्नर बनेका थिए ।