इन्डोनेसियामा विद्रोहीको आक्रमणमा परी ३१ कामदारको मृत्यु |

काठमाडौं । इन्डोनेशियाको नदुगा जिल्लामा रहेको दुर्गम पहाडी गाउँमा अवस्थित एक परियोजनामा विद्रोहीले आक्रमण गर्दा कम्तीमा ३१ कामदारको मृत्यु भएको छ । पपुवामा सरकारी पुल निर्माण गरिरहेका मजदुरमाथि पृथकतावादीहरूले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।
सुरक्षाकर्मीहरूले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन् । पृथकतावादीहरूले गरेको यो एक भीषण आक्रमणको रूपमा लिइएको छ । पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारमाथि आइतवार बन्दुकधारीले गरेको हमलामा उनीहरूको मृत्यु भएको हो ।
अन्य आठ जना कामदार स्थानीय संसद सदस्यको घरमा गएर लुकेका र भोलिपल्ट सशस्त्र पृथकतावादी समूह आई सात कामदारको हत्या गरेको दिआजले बताएका छन् ।