अब देशभरका सबै जिल्लामा स्वास्थ्य बीमा लागू हुँदै |
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले चाँडै नै सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको बताएका छन् । उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यसले मृत्युलाई जित्न नसकिए पनि अकालमा आर्थिक अभावले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’
परराष्ट्रमन्त्री ज्ञवालीले प्रदेश नं ५ पत्रकार समाजले हिजो बुधवार काठमाडौंमा आयोजना गरेको गुल्मीको हुङ्गाकी मिगौला पीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई सहयोग हस्तान्तरण कार्यक्रममा उक्त भनाइ राखेका हुन् ।
उनले अहिले २५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएकाले चाँडै नै देशभरका सबै जिल्लामा लागू गर्ने जानकारी गराउनुभयो ।स्वास्थ्य बीमाले मानिसको जीवनस्तर माथि उठाउन र सरकारले परिकल्पना गरेको समृद्ध नेपाल बनाउन थप सहयोग पु¥याउने उनको भनाइ थियो । उनले सरकारले हालैदेखि लागू गरेको ३५ लाख श्रमिकको हित हुने कार्यक्रम ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’को पनि केहीले नबुझेर विरोध गरेको बताए ।
‘सरकारले कामै गरेन भनेर टिप्पणी गर्नु स्वागतयोग्य कुरा भए पनि सकारात्मक कामको मूल्याङ्कन पनि गर्नुपर्छ,’ उनले भने, ‘सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटेको छ ।’
कार्यक्रममा मन्त्री ज्ञवालीले बालिका भण्डारी र उनकी आमा लक्ष्मी भण्डारीलाई उपचारका लागि दुबईमा संकलन गरिएको रू. २ लाख ८ हजार ५ सय हस्तान्तरण गरे । दुबईमा वैदेशिक रोजगारीका क्रममा रहेका कुवेर लुइँटेल र खिम केसीले संयोजन गरी नेपालमा कलाकार वैकुण्ठ महतमार्फत रकम उपलब्ध गराएका हुन् । बन्दना अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारत छिन् ।
Visited 1 times, 1 visit(s) today


