किरण थापा बने अस्ट्रेलियाको टप २० मोर्टगेज ब्रोकर |

अस्ट्रेलियाका मोर्टगेज ब्रोकरहरुको सूची र स्तर प्रकाशित गर्ने एमपीए म्यागजिनले बुधबार ब्रोकरहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीअनुसार २०१८ को लागि ११५ मिलियन अस्ट्रेलियन डलर (झन्डै साढे ९ अर्ब नेपाली रुपैयाँ) को ऋण स्वीकृत गराएर क्याप्कनका फाउन्डर तथा मोर्टगेज ब्रोकर डा. थापा टप ट्वान्टीभित्र परेका छन् ।
नेपालीमुलका डा. किरण थापा अस्ट्रेलियाका एक सय उच्च स्थानका ब्रोकरहरुको सूचीमा २० औं स्थानमा पर्न सफल भएका हुन् । उनले गत वर्षको तुलनामा २२ स्थान फड्को मारेका छन् । गत वर्षको सूचीमा डा. थापा ४२ औं स्थानमा थिए ।
अस्ट्रेलियन मोर्टगेज तथा फाइनान्सको क्षेत्रमा ख्याति प्राप्त उक्त म्यागजिनले हरेक वर्ष अस्ट्रेलियाका झन्डै एक हजार पाँच सय जनामध्ये उच्च एक सय जना मोर्टगेज ब्रोकरलाई समेटेर सूची प्रकाशन गर्दै आइरहेको छ । अस्ट्रेलियाभरिका मोर्टगेज ब्रोकरहरुले गत आर्थिक वर्षमा स्वीकृत गराएको ऋणलाई आधार मानेर सूची तयार पारिन्छ ।
सिड्नीमा मुख्य कार्यालय रहेको क्याप्कन होम लोनका संस्थापक थापा बिगत ७ वर्षदेखि मोर्टगेज ब्रोकिंगमा सक्रिय छन् । हाल यसका सेवा अस्ट्रेलियाका अन्य राज्यतिर बिस्तार गर्ने प्रक्रियामा छन् ।
एक हजार दुई सयभन्दा बढी परिवारलाई अस्ट्रेलियामा घर किन्ने प्रक्रियामा सहयोग गरिसकेको दावी गर्ने उनको संस्थाले आगामी वर्ष अस्ट्रेलियाका बिभिन्न शहरहरुमा निजी सम्पति व्यवस्थापन लगाएतका विषयमा सचेतनामुलक कार्यक्रम गर्ने योजना बनाएको थापाले अनलाइनखबरसँग बताए ।
पछिल्ला तथ्यांकअनुसार अस्ट्रेलियामा नेपाली मूलका व्यवसायीहरु उच्च स्थानमा पुग्नुको अर्थ यहाँ स्थायी बसोबास गर्ने नेपालीहरुको सम्पत्तिमा लगानी गर्ने हैसियत बढेको भन्न सकिन्छ ।