डलरको मौज्जाद घट्यो, अब विदेश जाँदा १५ सय डलरमात्रै साट्न पाइने |
काठमाडौं । अब विदेश जान भिसा लागेका नेपालीले प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाउने भएका छन । चालु खाता घाटा निरन्तर बढ्न थालेपछि राष्ट्र बैंकले विदेश घुम्न जानेहरुलाई पनि निरुत्साहित गर्न सटही सुविधा घटाइ दिएको छ । एक पासपोर्ट बराबर २५०० डलरसम्म सटही सुविधा पाइने गरेकोमा अबदेखि १५ सय डलर मात्र सटही सुविधा पाइने भएको छ ।
आयातमा भएको उच्च बृद्धिका कारण चालु खाता घाटा बिस्तार भएर आकासिएपछि राष्ट्र बैंकमार्फत सरकारले यसमा अंकुस लगाउन खोजेको हो । साथै प्रयोजन नखुल्दा पनि धेरै रकम लिएर विदेश जाने क्रम बढेपछि राष्ट्र बैंकले नयाँ नियम ल्याएको हो । यसअघि प्रतिपटक राहदानीबापत २ हजार ५ सय अमेरिकी डलर वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्रा सटही गरेर लैजाने सुविधा दिएको थियो । यो नियम भारतबाहेककका मुलुक जानेहरुका हकमा मात्रै लागू हुनेछ ।
यस्तै अब विदेश जाँदा प्रयोग गरिने टेलिग्राफिक ट्रान्सफर (टीटी) को सीमा पनि घटेको छ । अब एक पटकमा ३० हजार अमेरिकी डलर टीटी कायम भएको छ । यसअघि प्रतिपटक ४० हजार अमेरिकी डलर राखिएको थियो । राष्ट्र बैंकले विदेशबाट वाणिज्य बैंकले ल्याउन सक्ने ऋणको सीमा पनि विस्तार गरेको छ । अब आफ्नो पुँजीको ५० प्रतिशतसम्म ऋण ल्याउन बैंकलाई बाटो खुलेको छ । अहिलेसम्म पुँजीको २५ प्रतिशतसम्म मात्र ऋण ल्याउन बैंकले पाउँथे ।
‘नवीकरणीय ऊर्जा (जलविद्युत, सौर्य ऊर्जा र वायु ऊर्जा) उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधार (हाउजिङ, जग्गा विकासजस्ता रियल स्टेटको क्षेत्रबाहेक), विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि, लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट आफ्नो प्राथमिक पुँजीको ५० प्रतिशत रकमसम्म परिवत्र्य विदेशी मुद्रामा ऋण बैंकले लिन सक्छन,’ परिपत्रमा तोकिएको छ ।
बैंकहरूले एजेन्ट प्रयोग गरेर विदेशबाट ऋण पनि ल्याउन पाउने भएका छन् । यसअघि यस्तो व्यवस्था थिएन ।




