विराटनगर मनपाको कार्यालयमा विस्फोट गराउने तराई मुक्ति मोर्चा (क्रान्तिकारी) | तीनजना कार्यकर्ता पक्राउ
विराटनगर । विराटनगर महानगरपालिको कार्यालयमा बम विष्फोटन गराउने कार्यमा भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को हात रहेको पुष्टि भएको छ । मोरङ प्रहरीले बम विष्फोट गराउने कार्यमा संलग्न उक्त समूहका तनि जना कार्यकर्ता पक्राउ गरी भूमिगत समूहको संलग्ता रहेको पुष्टि भएको जानकारी दिएको हो ।
महानगरपालिकाको दोस्रो तल्लाको मेयरको कार्यकक्षनजिकै दुई साताअघि बम विष्फोटन भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले आज बम विष्फोटनमा संलग्न उक्त समूहका तीनजना कार्यकर्तालाई पक्राउ गरेको हो ।
प्रहरीले सिरहाको लक्ष्मीपुरपतार गाउँपालिका–३ हरिनगर, नयाँ टोलका २० वर्षीय अभिमनु गिरी, मोरङको जहदा गाउँपालिका–२ का हरिनगराका ५३ वर्षीय मनोजकुमार सिंह र सिराहाको सुखिपुर नगरपालिका–५ का २४ वर्षीय राम रिझन यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरी उपरीक्षक मनोज केसीले भूमिगत समूहको योजनाअनुरुप विभिन्न महत्वपूर्ण स्थान तथा कार्यालयहरूमा बम विष्फोट गराई सर्वसाधारणलाई आतंकित बनाउने उद्देश्यले पार्टीको कार्यक्रमअनुसार उक्त विष्फोटन गराएको बताए । मोरङ प्रहरीले जिल्ला अदालत मोरङबाट विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दासमेत दर्ता गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
Visited 1 times, 1 visit(s) today


