होटल सोल्टी वेष्ट एण्ड प्रिमियर पूर्ण रुपमा संचालन, प्रधानमन्त्रीद्वारा उद्घाटन |
काठमाडौं । सोल्टी होटल र नेपाली लगानीकर्ताको सहकार्यमा नेपालगंजमा स्थापना भएको पाँच तारे होटल सोल्टी वेष्ट एण्ड प्रिमियर पूर्ण रुपमा संचालनमा आएको छ ।
प्रधानमन्त्री केपीशर्मा ओली, उर्जामन्त्री वर्षमान पुन र पाँच नम्बर प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले होटलको उद्घाटन गरे । यो होटलको सफ्ट लन्च एक वर्ष अघि अंग्रेजी नयाँ वर्षमा भएको थियो । सोल्टी होटल समूहले ५५ करोड रुपैयाँ प्रारम्भिक लगानीमा नेपालगंजमा ८१ कोठा सहित सुविधा सम्पन्न होटल संचालनमा ल्याएको हो ।
यो होटलले नविकरणीय उर्जा प्रयोग गरेको, वर्षाको पानी प्रयोग गरेको र उत्सर्जित फोहोर पानीलाई प्रशोधन गरेर पुनː प्रयोगमा ल्याएकोमा दिल्लीमा आयोजित १४औं अन्तरराष्ट्रिय ट्राभल अवार्ड कार्यक्रममा ‘वेष्ट डेब्यु ग्रीन होटल’ को पुरस्कार समेत पाएको थियो ।
पाँच दशकदेखि काठमाण्डौमा पाँच तारे होटल सोल्टी क्राउन प्लाजा संचालन गरिरहेको सोल्टी होटल समूहको काठमाण्डौ उपत्यका बाहिरको यो पहिलो होटल हो । यो समूहले पर्यटकीय नगर पोखरामा समेत चार तारे होटल निर्माण गर्दैछ ।
Visited 4 times, 1 visit(s) today


