विदेशी लगानीकर्ताले नेपाली लगानीकर्तासँग साझेदारी गरे निकै सहज हुन्छ : हरिभक्त शर्मा |
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले विदेशी लगानीकर्तालाई नेपाली लगानीकर्तासँग साझेदारी गरेर लगानी गरे निकै सहज हुने बताएका छन् । उनले भने, ‘नेपाल लगानीका लागि भर्जिन मार्केट हो, यहाँ लगानीका लागि वातावरण एकदमै राम्रो छ ।’
काठमाडौंमा जारी लगानी सम्मेलनअन्तर्गत नेपालमा लगानीको सम्भावना र अनुभव आदानप्रदान सत्रमा मन्तव्य राख्ने क्रममा उनले विदेशी लगानीकर्ताहरूलाई त्यस्तो सुझाव दिएका हुन् ।
सो अवसरमा उनले नेपालको मौसम पनि उद्योग, कलकारखाना, पर्यटन, खेतीपातीका लागि अनुकूल रहेको बताए । उनले भने, ‘म ५० देश घुमिसकेको छु, म घुमेका देशमध्ये पनि मलाई यहाँको मौसम नै ठीक लाग्यो, यहाँ एयर कन्डिसन (एसी)को आवश्यकता नै पर्दैन ।’
नेपालमा अहिले झण्डै दुई तिहाइ बहुमतसहित स्थिर सरकार रहेको बताउँदै अध्यक्ष शर्माले सरकारको भिजन पनि प्रष्ट रहेको बताए । उनले भने, ‘स्पष्ट भिजनसहितको कम्युनिस्ट सरकार यहाँ पहिलो पटक आएको हो, हामी उत्साहित भएका छौं ।’



