नेपालमा सरकारी प्रक्रियामा एकदमै ढिलाइ हुन्छ : हुवाजिन सिमेन्टका उपाध्यक्ष |
काठमाडौं । नेपालमा विदेशी लगानी ल्याउन सरकारी प्रक्रिया तथा काममा ढिला हुने गरेको गुनासो विदेशी लगानीकर्ताले गरेका छन् । आज शुक्रवारदेखि शुरू भएको लगानी सम्मेलनको उद्योगसम्बन्धी सत्रमा मन्तव्य राख्ने क्रममा चिनियाँ कम्पनी हुवाजिन सिमेन्टका उपाध्यक्ष गाङले त्यस्तो गुनासो गरेका हुन् ।
उपाध्यक्ष गाङले नेपालमा लगानी भित्र्याउने प्रक्रियामा एकदमै ढिलो हुने गरेकाले सरकारलाई त्यतातर्फ ध्यान दिन आग्रह गरे । उनले भने, ‘बिजनेस गर्न आएकालाई आवश्यक सहयोग गर्नुहोस, चीनमा धेरै छिटो काम हुन्छ अन्य देशहरूमा भन्दा, अब नेपालमा पनि छिटो गर्नुहोस्, बिजनेस म्यानले सर्भिस चाँडो चाहन्छ ।’
उनले नेपालमा लगानीको सम्भावना रहेको बताउँदै सरकारमा पनि लगानी ल्याउने आत्मविश्वास देखिएको बताए । तर, नेपालमा लगानीको दर बढाउन ट्रान्समिसन लाइन र सडक पूर्वाधारमा अझै काम गर्नुपर्ने बताए । उनले लगानीकर्तालाई सहज वातावरण बनाउन सरकारले ध्यान दिनपर्ने पनि बताए ।
चिनियाँ कम्पनी हुवाजिन सिमेन्टले नेपालमा लगानी भित्र्याउन यसअघि नै सम्झौतासमेत गरेको छ ।



