लगानी सम्मेलनको उपहार उद्योगमन्त्रीद्वारा अस्वीकार |
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले लगान िसम्मेलनका आयोजकले दिएको उपहार लिन अस्वीकार गरेका छन् । आज शुक्रवारदेखि शुरू भएको सम्मेलनको उद्योगसम्बन्धी सत्रको सभाध्यक्षसमेत रहेका मन्त्री यादवले सत्रको समापनपछि दिइएको उपहार अस्वीकार गरेका हुन् ।
आयोजकको तर्फबाट सत्रमा सभाध्यक्ष, सहजकर्ता तथा सबै वक्ताहरूलाई उपहार (मायाको चिनो) हस्तान्तरण गरिए पनि उनले पुरस्कार नलिने भन्दै आफ्नो आसनबाट उठ्न चाहेनन् । एनआरएनएका अध्यक्ष भवन भट्ट र उद्योग मन्त्रालयकै सचिव यामकुमारी खतिवडालगायतले आग्रह गर्दा पनि उनले उपहार स्वीकार गरेनन् ।
सत्रमा उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडा, सूर्य नेपाल प्रालिका कार्यकारी निर्देशक अभिमन्यू पोद्दार, गोल्छा अर्गनाइजेशनका कार्यकारी निर्देशक शेखर गोल्छा, हुवासिन सिमेन्टका उपाध्यक्ष सू गाङ वक्ताका रूपमा सहभागी थिए । यस्तै पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक प्रदीपकुमार श्रेष्ठले सहजकर्ताको भूमिकामा थिए ।
मन्त्री यादवबाहेक अन्य सबै सहभागीले भने आयोजकको उपहार ग्रहण गरेका छन् । त्यसअघि भएको ऊर्जासम्बन्धी सत्रमा पनि ऊर्जामन्त्री वर्षमान पुन र सूचना प्रविधिसम्बन्धी सत्रमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उपहार थामेका थिए । उद्घाटन सत्रमा पनि मन्त्री यादवले बस्ते सिट नपाएर पत्रकारसहित अन्यका लागि व्यवस्था गरिएको डिजिटल डिस्प्ले भएको हलमा बसेर उद्घाटन सत्र हेर्नुपरेको थियो ।



