आइक्यान र आईआरडीबीच सूचना आदानप्रदान गर्ने सम्झौता | दोहोरो वासलात तयार गरी कर छल्ने प्रवृत्ति अब अन्त्य हुन्छ : आइक्यान
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र आन्तरिक राजस्व विभाग (आईआरडी) बीच सूचना आदानप्रदान गर्ने सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा आइक्यानको तर्फबाट अध्यक्ष जगन्नाथ उपाध्याय र विभागको तर्फबाट महानिर्देशक विष्णुप्रसाद नेपालले आज बिहीवार हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापत्रमा अध्यावधिक एवम् नवीकरण भएको लेखापरीक्षकले मात्रै लेखा परीक्षण गरे वा नगरेको यकिन गरेर लेखा परीक्षण प्रतिवेदन स्वीकार गर्ने पनि उल्लेख छ । उक्त सम्झौतासँगै अब दुई निकायबीच सूचना तथा तथ्यांक एकआपसमा आदानप्रदान हुनेछ ।त्यस्तै, उक्त सम्झौताअनुसार अब विभागले विभिन्न कर लेखापरीक्षणको ढाँचा तोक्ने र आइक्यानले त्यसलाई कार्यान्वयन गर्नेछ । यो सम्झौपश्चात् अब आइक्यानको सदस्यता प्राप्त नगरी गैरकानुनी लेखा परीक्षण गर्ने प्रवृत्तिमा रोक लाग्ने आइक्यानको विश्वास छ ।
करमा दर्ता भएका फर्म तथा कम्पनीहरूले दोहोरो वासलात तयार गरी कर छल्ने र त्यस्तो कार्यमा चार्टर्ड एकाउन्टेन्टले पनि सहयोग गर्ने गरेको गुनासो बढिरहेका बेला त्यसलाई पनि नियन्त्रण गर्ने सहमति भएको विभागका एक अधिकारीले बताए । उनका अनुसार अब आइक्यानका सदस्य रहेका सम्पूर्ण चार्टर्ड एकाउन्टेन्टले तयार गरेको वित्तीय विवरणमाथि कर कार्यालयको पहुँच रहनेछ । यस्तै, कुन चार्टर्ड एकाउन्टेन्टले कुन संस्थाको अडिट गरेको भन्ने जानकारी पनि कर कार्यालयलाई हुन्छ ।




