सम्मेलनका विदेशी पाहुना आउने क्रम जारी | २ सय १० जना आइपुगे, सम्मेलनको भोलिको कार्यतालिका कस्तो छ ?
काठमाडौं । काठमाडौंमा भोलि शुक्रवार र पर्सि शनिवार आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’का लागि विदेशी उच्चपदस्थ प्रतिनिधिहरू धमाधम नेपाल आउने क्रम जारी छ । यो समाचार लेख्दासम्म २१० जना विदेशी पाहुना नेपाल आइसकेको लगानी बोर्ड स्रोतले बताएको छ ।आज बिहीवार पनि ७ जना भीआईपी आइसकेको र आजै साँझसम्म २० जनालाई एयरपोर्टमा रिसिभ गर्ने बोर्डको सेड्युल रहेको जानकारी लगानी बोर्डले दिएको छ ।
हिजो मात्र विभिन्न देशबाट ५ जना उच्चपदस्थ प्रतिनिधि र गत मंगलवार दुई जना आएका छन् । हालसम्ममा विश्व बैंकका उपाध्यक्ष हार्टविग स्याफर, म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुङ मन्त्री, ओमानका मन्त्री, भारतको मुतुथका अध्यक्षलगायत आइसकेका छन् । भोलि सम्मेलन शुरू हुनुअगाडिसम्म विदेशी लगानीकताहरू आउने बोर्डको भनाइ छ ।
झण्डै ६३५ जना विदेशी प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा त्यत्तिकै संख्यामा स्वदेशी प्रतिनिधिको पनि सहभागिता रहनेछ । लगानी बोर्डका एक उच्च अधिकारीका अनुसार सोचिएभन्दा बढी विदेशी पाहुनाको सहभागिता हुने भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती खडा भएको छ । बोर्डका अनुसार पाहुना रिसिभ गर्न विमानस्थल क्षेत्रमा चारजना खटिएका छन् भने गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयबाट पनि अधिकारीहरू पाहुना लिन विमानस्थल परिसरमा खटिएका छन् । त्यसैगरी विदेशी मिडियाका सञ्चारकर्मीहरू आउने क्रम पनि जारी रहेको छ ।
सम्मेलनको पहिलो दिनको कार्यतालिका
सम्मेलनको पहिलो दिन बिहान ८ बजेदेखि ९ बजेसम्म दर्ता समय राखिएको छ । ९ देखि साढे १० बजेसम्मको समय उद्घाटन सत्र राखिएको छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा. युवराज खतिवडा, म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुङ, नेपाली काङ्ग्रेसका तर्फबाट डा. रामशरण महत, वल्र्ड बैंकका उपाध्यक्ष हार्टविग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, मेनहार्ट ग्रुपका कार्यकारी अध्यक्ष शाहजाद नसिम, मुथुत ग्रुपका अध्यक्ष एम जी जर्ज र इन्भेष्टमेन्ट बोर्डका सिइओ महाप्रसाद अधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
साढे १० देखि ११ बजेसम्म चिया ब्रेक, ११ देखि साढे १२ सम्म नेपालमा लगानीको अवसरको सम्बन्धमा छलफल, साढे १२ देखि साढे १ बजेसम्म लन्च समय, साढे १ देखि ३ बजेसम्म उर्जा र सूचना तथा प्रविधिको क्षेत्रका विषयमा जानकारी, त्यसपछि टि ब्रेक र सवा ३ दिने ५ बजेसम्म पर्यटन र उद्योगको विषयमा छलफल हुनेछ । व्यवसायमा महिला र युवा उद्यमशीलताको विकासका विषयमा छलफल हुनेछ ।



