सस्तोमा विदेशी रक्सी किन्ने हो ? विमानस्थल भन्सार कार्यालयले लिलामीमा बेच्दै छ | लिलामीमा १ करोडभन्दा बढी मूल्यका रक्सीदेखि यार्सागुम्बासम्म
काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रु तथा आपूर्तिकर्ताबाट जफत गरेका विभिन्न मालवस्तु लिलामी गर्न पुनः सूचना प्रकाशित गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १ करोड १२ लाख मूल्यबराबरका विभिन्न ब्राण्डका ह्वीस्कीदेखि यार्सागुम्बासम्मका वस्तुको लिलामीमा विक्री गर्न लागेको हो ।
कार्यालयले न्यूनतम् मूल्य करिब १८ लाख ६२ हजारबराबरका विभिन्न ब्राण्डका ८ सय ४१ बोतल ह्वीस्की लिलामीमा राखेको छ । त्यसैगरी, कार्यालयले १६ लाख ३४ हजार मूल्य रुपैयाँका विभिन्न सूर्तीजन्य पदार्थ, ५ लाख ६० हजार रुपैयाँबराबरको मोटर ट्रान्सर्फमर र ६४ लाख ८० हजार रुपैयाँबराबरको पीओएस टर्मिनल पनि लिलामीमा राखेको छ ।
लिलामीमा ७ लाख २० हजार मूल्यबराबरको यार्सागुम्बासमेत रहेको छ ।
ती सामानहरू लिन यच्छुक व्यक्ति तथा संस्थालाई चैत २५ गतेसम्म रीत पुगेको निवेदन दिएर मूल्य बढाबढमा भाग लिन सक्ने कार्यालयले बताएको छ । चुरोट र मदिराको हकमा अन्तशुल्कको इजाजत लिएको, भ्याट चुक्ता गरेको प्रमाणपत्र भएको थोक विक्रेताले मात्र लिलामीमा भाग लिन सक्ने कार्यालयले जानकारी दिएको छ ।
यसअघि गत फागुन १६ गते मात्र उक्त कार्यालयले मदिरालगायतका विभिन्न सामानहरू लिलामीमा राखेको थियो ।




