जापान कामदार पठाउन भोलि सम्झौता हुँदै | सरकारी संयन्त्रबाटै पठाइने, पारिश्रमिक जापानीको भन्दा बढी हुन सक्ने
काठमाडौं । नेपाल र जापान सरकारबीच नेपाली श्रमिक जापान आपूर्ति गर्नेसम्बन्धी ‘सहकार्यको समझदारीपत्र’मा भोलि सोमवार हस्ताक्षर हुने भएको छ । ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा एक समारोहका बीच ‘मेमोरेन्डम अफ कोअपरेशन’ (एमओसी)मा हस्ताक्षर हुने श्रम मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार ‘सहकार्यको समझदारीपत्र’मा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चारवटा मन्त्रालयका अधिकारीहरूले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । अप्रिल १ देखि लागू हुने गरी दुई देशबीच कामदारको क्षेत्रमा उक्त एमओसीमा हस्ताक्षर हुने भएको हो ।
प्राप्त जानकारीअनुसार जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित जापानी राजदूतले श्रमसचिवसमक्ष पेश गर्ने कार्यक्रम छ । जापान स्वयम्का लागि विदेशी कामदार लैजाने विषय नयाँ भएकाले कतिपय विषयहरू प्राविधिक कमिटीको कार्यक्षेत्रमा राखेर एमओसी तयार पारिएको श्रम मन्त्रालयले बताएको छ ।
जापानले आगामी अप्रिलदेखि वृद्धवृद्धाको स्याहारसुसार, कृषि, निर्माणसहितका १४ क्षेत्रमा करिब ४ लाख विदेशी कामदार लिने निर्णय गरेको छ । जापानीहरूको बढ्दो आयु तथा वृद्ध जनसंख्याका कारण खासगरी ग्रामीण क्षेत्रमा गम्भीर किसिमका कामदार अभाव जापानले झेल्दै आएको छ ।
जापान जाने श्रमिकको पारिश्रमिक कति हुने र पठाउने कसले ?
नेपालबाट रोजगारीका लागि जापान जाने कामदारको न्यूनतम पारिश्रमिक जापानी नागरिकको भन्दा कम नहुने व्यवस्था अब हुने सम्झौतापत्रमा राखिएको छ । रोजगारीका लागि जापान जान चाहने उम्मेदवारले जापानिज भाषा परीक्षा, सीप परीक्षण र स्वास्थ्य परीक्षणमा पास हुनुपर्ने प्रावधान राखिए पनि हालसम्म भाषा परीक्षाका लागि भने अझैसम्म पाठ्यक्रम तयार भइसकेको छैन ।
दक्षता र अनुभव भएका कामदार भिसा नवीकरण गरी ५ वर्षसम्म जापानमा काम गर्न पाउने भए पनि परिवारका सदस्यहरूलाई भने साथमा लैजान पाउने व्यवस्था छैन । उच्च दक्षता भएका कामदारले भने आफ्नो परिवारका सदस्य साथमै लैजान सक्नेछन् ।
जापान सरकारले विभिन्न नौ मुलुकबाट कामदार लैजाने घोषणा गरेअनुरुप १ अप्रिलदेखि नै कार्यान्वयनमा आउने गरी नेपालसँग पनि सम्झौता गर्न लागेको हो । जापानले पाँच वर्षमा ३ लाख ९८ हजार कामदार नेपालसहित भियतनाम, चीन, फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्ड, म्यानमार, कम्बोडिया, मंगोलियाबाट विदेशी कामदार आयात गर्ने तयारी गरिरहेको छ ।
यद्यपि जापानले नेपालबाट कति संख्यामा नेपाली श्रमिक लैजान्छ त भन्ने विषयमा भने कुनै टुंगो लागिसकेको छैन । तर, नेपालबाट जापान रोजगारीका लागि जाने सबै श्रमिक सरकारी संयन्त्रबाटै पठाइनेछ । त्यसका लागि कोरियामा कामदार पठाउन स्थापना गरिएको ईपीएसजस्तै छुट्टै एकाइ बनाइने मन्त्रालयले बताएको छ ।



