राउण्ड टेबल नेपालद्वारा १०५४ पिन्ट रगत सङ्कलन |
काठमाडौं । जीवन रक्षामा साझेदारी कार्यक्रम अन्तर्गत राउण्ड टेबल नेपालले राउण्ड नेपाल ईन्टरनेशनल फाउण्डेशन दिवसको उपलक्ष्यमा १४, १५, १६ र १७ मार्च ( फागुन ३०, चैत १, २ र ३ ) गते आयोजना गरेको रक्तदान कार्यक्रमबाट १ हजार ५४ पिन्ट रगत सङ्कलन गरेको छ । रक्तदान कार्यक्रम नेपालका ८ ठूला सहरहरुमा आयोजना गरिएको थियो । काठमाडौँ ,विराटनगर, वीरगञ्ज , धरान , विर्तामोड , भैरहवा , नारायणघाट र सोनापुरमा रक्तदान कार्यक्रम गरिएको थियो ।

आम जनतामा रक्तदान प्रति चेतनावृद्धि गर्नुका साथै एक पिन्ट रक्तदानद्वारा अरुका जीवन रक्षामा संलग्न हुन पाउँछ र ज्यान जोगिन्छ लाखौँमा मुस्कान ल्याउँछ भन्ने नाराका साथ उक्त रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । सङ्कलित रगत विभिन्न रेडक्रस क्लवहरुलाई उपलब्ध गराइयो ।

राउण्ड टेबलको स्थापना संयुक्त अधिराज्यको नर्विचमा १४ मार्च १९२७ मा भएको थियो । अहिले यसका ३४ हजार सदस्य छन् । जुन ७५ मुलुकमा छरिएर रहेका छन् ।
राउण्ड टेबल नेपाल गैर–राजनितिक सामाजिक विकासमा सक्रिय संस्था हो । यसले आफ्नो स्थापनाकाल देखि विभिन्न सामाजिक सेवामा उल्लेखनिय योगदान पुर्याउँदै आएका छन् ।

राउण्ड टेबल नेपाल विभिन्न सामाजिक कार्य विशेषगरी वालवालिकाहरुको शिक्षा तथा सरसफाईमा केन्द्रित भई वर्षभरिनै विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।




