विशिष्टिकृत लगानी कोष नियमावली कार्यान्वयनमा | वैकल्पिक लगानीका लागि कोष स्थापना हुने, नवीनतम उद्यम गर्नेलाई अवसर
काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैकल्पिक लगानी कोष प्रोत्साहन गर्न ‘विशिष्टिकृत लगानी कोष नियमावली’ कार्यान्वयनमा ल्याएको छ । बोर्डले ‘प्राइभेट इक्विटी फण्ड, भेञ्चर क्यापिटल फण्ड, हेज फण्डजस्ता वैकल्पिक लगानी कोष’लाई प्रोत्साहन गर्न त्यस्तो व्यवस्था ल्याएको हो ।
परम्परागत लगानीको सट्टा नवीनतम् ज्ञान, सीप, क्षमता भएका वा नयाँ वस्तु सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम् उद्यम सञ्चालनका लागि उक्त नियमावलीले अवसर प्रदान गर्ने बताइएको छ । नयाँ उद्योग तथा व्यवसाय सञ्चालन गर्न शेयर स्वामित्व पूँजीमा लगानी गर्ने कोष, लगानीको उच्च जोखिम रहेका जुनसुकै क्षेत्रमा लगानी गर्न सक्ने गरी त्यस्ता कोष सञ्चालनमा ल्याइनेछ ।
कोषले योग्य लगानीकर्तासँग लगानी गर्ने सम्बन्धमा लगानी सम्झौता गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ । सम्झौतामा कोष व्यवस्थापकले कोषको रकम सरकारको प्रचलित कानूनबमोजिम लगानी गर्न निषेध गरिएको क्षेत्रमा बाहेक सबै क्षेत्रमा लगानी गर्नुपर्नेछ । बोर्डका अनुसार त्यस्तो कोषले अन्तरराष्ट्रिय संघसंस्था वा बहुपक्षीय संस्थागत लगानीकर्तालाई एकाइ निष्कासन गर्दा ऋणका रूपमा समेत गर्न सक्ने व्यवस्था गरिएको छ ।

