छवटा क्षतिग्रस्त सम्पदा बस्ती पुनर्निर्माण गर्न रू. ३१ करोड २० लाख विनियोजन | विश्व सम्पदा सूचीमा परेका सातवटा क्षेत्रका लागि पनि त्यत्ति नै बजेट
काठमाडौं । काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छवटा भूकम्पबाट क्षतिग्रस्त सम्पदा बस्ती पुनर्निर्माण हुने भएका छन् । सरकारले त्यसका लागि अध्ययन र पुनर्निर्माणका लागि भनेर जम्मा ३१ करोड २० लाख विनियोजन गरेको छ । जसमध्ये १ करोड २० लाख रुपैयाँ छवटा सम्पदा बस्ती अध्ययनका लागि र रू. ३० करोड रुपैयाँ पुनर्निर्माणका लागि भनेर विनियोजन गरिएको हो ।
प्रत्येक बस्तीका लागि २० लाखका दरले तथा पुनर्निर्माणका लागि यस आर्थिक वर्षभित्र प्रत्येक बस्तीका लागि ५ करोड रुपैयाँ बजेट निकासा गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार काठमाडौं उपत्यकाभित्रका खोकना (ललितपुर), बुङमती (ललितपुर) र साँखु (काठमाडौं) का परम्परागत सम्पदा बस्तीका स्मारक, पाटी, धारा तथा अन्य संरचना पुनर्निर्माणका लागि बजेट विनियोजन भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार उपत्यकाबाहिर नुवाकोटको साततले दरबार स्क्वायर परिसर, गोरखाको गोरखा दरबार स्क्वायर तथा दोलखाको दोलखा बजार पनि यस कार्यक्रममा समेटिएका छन् ।
निर्देशक प्याकुरेलले भने, ‘यी सम्पदा बस्तीका परम्परागत स्मारक, पाटी, धारा तथा अन्य पूर्वाधार पुनर्निर्माणमा बजेट खर्च हुनेछ । यसबाट हाम्रा मौलिक सम्पदाको संरक्षण मात्र होइन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन समेत हुने र जीविकोपार्जनमा टेवा पुग्नेछ ।’
विश्व सम्पदा सूचीमा परेका क्षेत्रका लागि पनि बजेट
त्यसैगरी, भूकम्पबाट क्षतिग्रस्त सातवटा विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरूको संरक्षण तथा विकास कार्यका लागि पनि सोही परिमाणको अलग्गै बजेट विनियोजन गरिएको छ । यस कार्यक्रममा पनि प्रत्येक क्षेत्रको अध्ययनका लागि २० लाख र विकास कार्यका लागि यस आर्थिक वर्षभित्र ५ करोड बजेट परिचालन हुनेछ ।
विश्व सम्पदा सूचीमा परेका पशुपति क्षेत्र, चाँगुनारायण मन्दिर क्षेत्र, स्वयम्भूनाथ क्षेत्र र बौद्ध स्तुपा क्षेत्रको विकास कार्य हुने प्राधिकरणले बताएको छ । त्यसैगरी, उपत्यकाका तीन जिल्लाहरु भक्तपुर, ललितपुर र काठमाडौंका दरबार स्क्वायरहरूको संरक्षण र सम्वद्र्धन गरिनेछ । यी सबै कार्यक्रमहरूको अध्ययन कार्य तुरुन्तै प्रारम्भ हुने र अध्ययनको प्रतिवेदनलगत्तै निर्माण कार्य शुरूगरिने प्राधिकरणले बताएको छ ।

