राष्ट्रपति भण्डारी आज अमेरिका जाँदै |
काठमाडौं । आज आइतवार राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका जाँदैछिन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यू) को ६३औं बैठकमा भाग लिन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेकी हुन् ।
प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा, राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी पनि उक्त प्रतिनिधिमण्डलमा सहभागी भई अमेरिका प्रस्थान गर्दै छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, नारी नेत्रीले विश्वलाई कसरी रुपान्तरण गर्छन् भन्ने विषयमा पनि राष्ट्रपतिले मन्तव्य राख्ने तय भएको छ ।
राष्ट्रपति भण्डारीले अमेरिकामा उक्त कार्यक्रमका अलावा केही उच्चस्तरीय भेटवार्तासमेत गर्ने बताइएको छ । परराष्ट्रका अनुसार, राष्ट्रसंघका महासचिव एण्टोनियो गुट्रेस र अध्यक्ष ग्रेसेससँगको भेटवार्ताको समय टुंगिसकेको छ ।
भ्रमणको दौरानमा राष्ट्रपति भण्डारीले इष्टोनियाका राष्ट्रपति केस्र्टी कालजुलेड तथा क्रोएसियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग पनि द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । सोही दिन राष्ट्रपति भण्डारीसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जानकारी परराष्ट्रले दिएको छ ।
राष्ट्रपतिको कार्यक्रम तालिकामा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको भ्रमण पनि समावेश छ । राष्ट्रपति भण्डारी चैत १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

