समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्न | सामाजिक सञ्जाल आफ्ना अभिभावक र बालबालिकाबीच पासवर्ड आदानप्रदान गरेर मात्र प्रयोग गर्नुस् : प्रनाम क्षत्री
काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६, मूलपानीस्थित शिक्षालय नेपाल स्कुलमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम र प्यारेण्टिङ प्रोग्रामअन्तर्गत विद्यार्थी तथा अभिभावकहरूसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा हिजो शुक्रवार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि एवम् महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (प्रनाम) सैलेश थापा क्षत्रीले विभिन्न विषयमा चेतनामूलक प्रशिक्षण दिएका थिए ।
प्रहरी नायव महानिरीक्षक क्षत्रीले साइबर क्राइम, सामाजिक सञ्जाल तथा जबर्जस्ती करणीलगायतका विषयमा प्रशिक्षण दिए । साथै उनले अपराधबाट बच्ने विभिन्न उपायहरूबारे पनि जानकारी दिए ।

प्रहरी नायव महानिरीक्षक क्षत्रीले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगबाट आपराधिक गतिविधिहरू बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न सदैव सजग हुनसमेत आग्रह गरे । उनले भने, ‘प्रविधिको प्रयोग बढ्दै गर्दा संसार साँघुरिएको छ, प्रविधिको गलत प्रयोगले समाजमा अपराध पनि बढ्दै गएको छ ।’
उनले सामाजिक सञ्जाल प्रयोग गर्दा आफ्ना अभिभावक र बालबालिकाबीच पासवर्ड आदानप्रदान गरी गर्न सुझाव दिए । बालबालिकाले के गर्दै छन् भनी निगरानी गर्न र बालबालिकाले पनि साथीहरूसँग जाँदा कोसँग जाने ? कहाँ जाने ? कतिखेर फर्कने ? लगायतका जानकारी दिएमा अपराध घट्न सहयोग पुग्ने उनले बताए ।
एकान्त स्थान, जंगल, पार्कलगायतका स्थानमा घुम्न जानेभन्दा मान्छेको आवतजावत बढी हुने स्थानमा घुम्न गएमा अपराधका घटना कम हुने उनको तर्क थियो ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक क्षत्रीले विद्यालयले सञ्चालन गरेका विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरे । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, ‘आमा’ नामक नाटक समेत प्रस्तुत गरेका थिए ।

