बैंक ब्याजदर घट्न समय लाग्छ : गभर्नर |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले हिजो बिहीवार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पाँचबुँदे ज्ञापनपत्र बुझाएको छ । महासंघका उपाध्यष उमेशलाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गभर्नर डा. नेपाललाई ज्ञापनपत्र बुझाउँदै बैंक ब्याज कम गर्न सुझाव दिएको छ ।
ज्ञापनपत्र ग्रहण गर्दै गभर्नर नेपालले महासंघले विभिन्न समयमा दिएका सुझावहरू अत्यन्त महत्वपूर्ण रहेको र समस्या समाधानका लागि परिणाम निस्कन समय लागे तापनि नेपाल राष्ट्र बैंकले कार्य गरिरहेको बताए । भेटवार्ताका क्रममा साना तथा मझौला उद्योग व्यवसायले सहज र सुपथ ब्याजदरमा कर्जा पाउनुपर्ने विषयमा पनि छलफल भएको महासंघले बताएको छ ।
कार्यक्रममा डेपुटी गभर्नर शिवराज श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, महासंघको बैकिङ समितिका सभापति शौरभ ज्योति, कार्यकारिणी समितिका सदस्यहरू विजयसिंह वैद्य, गोपाल खनाल, चन्द्रकान्त अधिकारी, रविनकुमार श्रेष्ठ र सुनीलनारायण श्रेष्ठ सहभागी थिए ।
महासंघको टोलीले बुझाएको ज्ञापनपत्रमा के छ ?
१. बैंक तथा वित्तीय संस्थाले बेस रेटमा अधिकतम चार प्रतिशत सम्म प्रिमियम थपगरी लिनपाउने व्यवस्था गरिनुपर्ने । साथै, कर्जा अवधिभर प्रिमियमको दर परिवर्तन गर्न नपाउने व्यवस्था गरिनु पर्ने ।
२. अनिवार्य नगद अनुपातमा बैंकहरुलाई ब्याज दिने व्यवस्था गरिएमा बैंकहरूको कस्ट अफ फण्ड घटेर वेस रेट घट्न सक्ने भएकोले यसतर्फ कदम चाल्नु पर्ने ।
३. पुनरकर्जा कोषमा ६(६ महिनामा नवीकरण गर्नुपर्ने हालको व्यवस्थाको सट्टा पाँच वर्षको अवधि बनाउनु पर्ने । पूनरकर्जाका प्रक्रिया सरल गरिनुको साथै पूनरकर्जा कोषलाई बृद्धि गरी १०० अर्ब रुपैयां बनाउनु पर्ने ।
४. नाफामूलक सस्थागत बचतकर्ताले निक्षेपमा पाउने ब्याजदर न्यूनतम बचतकर्ताको ब्याजदरभन्दा बढी नहुनेगरी ब्याजदर कायम गरिनुपर्ने ।
५. बैंकिङ सेवालाई सरल र सहज बनाउनका लागि १० लाखभन्दा कमको बचतमा केवाईसी फर्मलाई उदार गरिनुपर्ने ।



